स्याङ्जा । स्याङ्जा जिल्लामा यस वर्ष सुन्तला उत्पादनले नयाँ कीर्तिमान कायम गरेको छ । जिल्लाबाट एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार यस वर्ष जिल्लामा कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । उत्पादन भएको सुन्तला थोकमा प्रतिकेजी औसत ५७ रुपैयाँका दरले बिक्री भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष सुन्तलाबाट करिब २० करोड रुपैयाँ बढी आम्दानी भएको छ । अघिल्लो वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष उत्पादकत्वसमेत बढेर प्रतिहेक्टर १६.३७ टन पुगेको छ, जबकि गत वर्ष प्रतिहेक्टर १४.६६ टन मात्र उत्पादन भएको थियो ।
जिल्लामा उत्पादन भएको सुन्तलामध्ये करिब ९० प्रतिशत बिक्री हुने गरेको छ भने बाँकी १० प्रतिशत कोसेली, उपहार तथा घरायसी प्रयोजनमा खपत हुने गरेको छ । यस वर्ष उत्पादन भएकामध्ये २० हजार ८८२ मेट्रिक टन सुन्तला बिक्रीयोग्य रहेको बताइएको छ ।
स्याङ्जामा सुन्तला बगैँचाले ढाकेको क्षेत्रफलसमेत बढेको छ । गत वर्ष २ हजार २५० हेक्टर रहेको क्षेत्रफल यस वर्ष १५० हेक्टरले वृद्धि भई २ हजार ४०० हेक्टर पुगेको छ । उत्पादनशील क्षेत्रफल १ हजार ४२० हेक्टर पुगेको छ भने हुर्कँदो बगैँचाको क्षेत्रफल ९८० हेक्टर रहेको छ ।
विसं २०७३/७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन घोषणा गरिएको थियो । त्यसपछि आव २०७५/७६ देखि जिल्लालाई सुन्तला सुपरजोनका रूपमा विकास गरिँदै आएको छ । सुपरजोन कार्यक्रम लागू भएसँगै किसानहरू व्यावसायिक सुन्तलाखेतीतर्फ थप आकर्षित भएका छन् ।
पाखो, भिरालो जमिन तथा बारीको सदुपयोग गर्दै सुन्तलालाई मुख्य आम्दानीको स्रोत बनाउने क्रम तीव्र बन्दै गएको छ । पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, विरुवा र अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्रका रूपमा चिनिन्छन् ।
यहाँ उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढलगायत ठूला सहरमा बिक्री हुने गरेको छ । व्यापारीहरू सिधै बगैँचामा पुगेर सुन्तला खरिद गर्ने क्रम बढेसँगै स्याङ्जाको सुन्तला व्यवसाय थप सुदृढ बन्दै गएको छ ।
प्रतिक्रिया