ओलीको गठबन्धन दौडधुप तीव्र, कांग्रेस–नेकपा दुवैसँग समानान्तर संवाद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०८२, बिहीबार ०६:५०

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी गठबन्धनका लागि तीव्र दौडधुप थालेका छन्। ओलीले एकातिर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद बढाएका छन् भने अर्कोतिर नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि गोप्य भेटवार्ता जारी राखेका छन्।

एमाले उच्च स्रोतका अनुसार आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन गर्ने विषय सहमतिको नजिक पुगेको छ। तर कांग्रेसले एमाले वा नेकपासँग कुनसँग सहकार्य गर्ने भन्नेबारे अन्तिम निर्णय भने गरिसकेको छैन। कांग्रेसका एक पदाधिकारीका अनुसार पार्टीले दुवै पक्षसँग समानान्तर संवाद गरिरहेको छ। राष्ट्रिय सभा निर्वाचनमा नेकपा एक्लै जित्न नसक्ने अवस्थामा रहेकाले जससँग गठबन्धन हुन्छ, परिणाम पनि त्यतैतर्फ जाने देखिएको छ।

यसैक्रममा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको थियो। महासचिव शंकर पोखरेलसहित पुगेका ओलीले देउवासँग राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावनाबारे छलफल गरेको बताइएको छ।

त्यसैगरी ओलीले सोमबार नेकपाका संयोजक प्रचण्डसँग पनि गोप्य भेट गरेका थिए। स्रोतका अनुसार दुई नेताबीच राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भावनाबारे गम्भीर छलफल भएको छ।

यदि गठबन्धन नभए एमालेको राष्ट्रिय सभामा हालको १० सिट २ सिटमा झर्ने जोखिम देखिएको छ। एमालेका ८ जना सदस्यको पदावधि फागुन २० गतेदेखि सकिँदैछ।

हालको राष्ट्रिय सभा समीकरणमा नेकपा सबैभन्दा ठूलो दल बनेको छ। यसअघि माओवादी केन्द्र १७ सदस्यसहित ठूलो दल रहेकामा एकीकृत समाजवादीसँगको एकतापछि ५९ सदस्यीय राष्ट्रिय सभामा नेकपाको संख्या बढेर २६ पुगेको छ। एमालेका ८, नेकपाका ८, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) का १–१ सदस्य तथा स्वतन्त्र सांसद बामदेव गौतमको पदावधि पनि सकिन लागेको छ।

राष्ट्रिय तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा ओलीको सक्रिय कूटनीतिक पहलले आगामी सत्ता समीकरण र राजनीतिक गठबन्धनको दिशा निर्धारण गर्ने संकेत देखिएको छ।

प्रतिक्रिया