काठमाडौँ । सरकारले गृह सचिवसहित सात जना सचिवको सरुवा गरेको छ। पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र संवैधानिक निकायका सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरिएको छ। गृह सचिवको जिम्मेवारी भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई दिइएको छ।
यस्तै, लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ भने उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्ले नियुक्त भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्साललाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सचिवस्तरमा सरुवा गरिएको बताइएको छ।
प्रतिक्रिया