काठमाडौँ । जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै पनि प्रकारको आदेश नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले स्पष्ट पारेका छन्। आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखकले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने वा त्यससम्बन्धी कुनै लिखित वा मौखिक निर्देशन आफूबाट नदिइएको दाबी गरेका हुन्।
लेखकले भने, “मैले गोली चलाउने, बल प्रयोग गर्ने वा कुनै किसिमको आदेश दिएको छैन। त्यस्तो आदेश दिनुपर्ने न कारण थियो, न कानुनी व्यवस्था नै छ।” उनले गृहमन्त्रीको हैसियतमा बल प्रयोगसम्बन्धी आदेश दिने अधिकार कानूनले नदिएको जिकिर गरे।
पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनको घटनापछि आफू अत्यन्तै मर्माहत भएको र पदीय मर्यादा तथा नैतिक जिम्मेवारीको आधारमा राजीनामा दिएको बताए। “कति बल प्रयोग गर्ने, कसरी गर्ने भन्ने निर्णय मैले कहिल्यै दिएको छैन। तर घटनाबाट म गहिरो पीडामा परेँ र नैतिकताको आधारमा राजीनामा गरेँ,” उनले भने।
आयोगलाई बुझाएको लिखित बयानमा पनि लेखकले गोली चलाउन आदेश नदिएको स्पष्ट उल्लेख गरेका छन्। उनका अनुसार गृहमन्त्रीलाई कुनै पनि कानूनले प्रत्यक्ष रूपमा बल प्रयोगसम्बन्धी निर्देशन दिने अधिकार प्रदान गरेको छैन। “प्रदर्शनका क्रममा बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने विषय गृहमन्त्रीको कानुनी दायित्वभित्र पर्दैन,” उनले बयानमा उल्लेख गरेका छन्।
बल प्रयोगसम्बन्धी निर्णय फिल्डमा खटिएका सुरक्षा निकायले तत्कालीन अवस्था, परिस्थिति र वस्तुगत आधारमा विश्लेषण गरेर गर्ने लेखकको भनाइ छ। “शान्ति सुरक्षा कायम गर्ने क्रममा कहाँ, कहिले र कति बल प्रयोग गर्ने भन्ने निर्णय सुरक्षा निकायले नै गर्छन्। प्रधानमन्त्री वा गृहमन्त्रीले यस्तो निर्देशन दिने चलन वा व्यवस्था छैन,” उनले स्पष्ट पारे।
उनले कानूनले पनि बल प्रयोगसम्बन्धी निर्णय गर्ने अधिकार सुरक्षा निकाय र स्थानीय तहका तोकिएका पदाधिकारीलाई नै दिएको उल्लेख गर्दै यस विषयमा राजनीतिक नेतृत्वमाथि दोष थोपर्नु तथ्यसंगत नभएको दाबी गरे।
प्रतिक्रिया