काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको औपचारिक रूपमा कार्यकाल समाप्त भएको छ। संविधानअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र सभामुख र उपसभामुख पदमा बहाल रहन पाउने व्यवस्था रहेको छ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले १३ र १४ पुसमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकेको छ। आयोगको कानुन तथा राजनीतिक महाशाखाका अनुसार बन्दसूची आयोगमा पेस गरिएपछि उम्मेदवारको मनोनयन भएको मानिने भएकाले सोही मितिसँगै सभामुख र उपसभामुखको कार्यकाल समाप्त भएको हो।
संविधानको धारा ९१(६)(क) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने स्पष्ट व्यवस्था छ। साथै, सम्बन्धित ऐनको दफा २८(८) मा दलले पेस गरेको बन्दसूची आयोगमा बुझाएपछि उम्मेदवारको मनोनयन भएको मानिने उल्लेख गरिएको छ।
यससँगै प्रतिनिधिसभाको नेतृत्व तह आजदेखि औपचारिक रूपमा रिक्त अवस्थामा पुगेको छ।
प्रतिक्रिया