काठमाडौं । नेकपा (एमाले) को समानुपातिक निर्वाचन क्षेत्रतर्फको बन्द सूचीमा यसअघि पटक–पटक अवसर पाएका नेताहरू नै फेरि प्राथमिकतामा परेका छन्। अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ राखिने नामहरू तय गर्ने क्रममा पुरानै अनुहारलाई अघि सारेका छन्।
समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा गुरु बरालको नाम राखिएको छ। बराल हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार भएर पराजित भएका थिए। केन्द्रीय सदस्यमा पनि उनी असफल भएका थिए। यसअघि उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा बराललाई मनोनित गरिएको थियो।
२०७९ को प्रदेशसभा निर्वाचनमा बराललाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी भए पनि मोरङ क्षेत्र नम्बर ६ (१) मा जित्ने सम्भावना कमजोर देखिएपछि उनी स्वयं पछि हटेका थिए। आम निर्वाचनपछि एमाले–माओवादी केन्द्रबीच सत्ता सहकार्य हुँदा बराललाई राष्ट्रपतिको उम्मेदवार बनाउने ओलीको चाहना थियो। त्यसबेला राष्ट्रपति र सभामुख एमालेको भागमा परेको थियो। सभामुखमा देवराज घिमिरे चयन भए पनि बराल राष्ट्रपति बन्न सकेनन्।
बरालले २०५१ सालदेखि २०७८ सालसम्म पाँच वटा चुनाव लडेका छन्। २०५१ साल बाहेक अन्य चुनावमा उनी पराजित भएका थिए। २०७८ माघ १२ मा भएको राष्ट्रियसभा निर्वाचनमा पनि उनी झापाका गोपाल बस्नेतसँग पराजित भएका थिए।
यसैगरी सचिव पद्मा अर्याल, अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल, युवा संघकी पूर्व अध्यक्ष निरु पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी र पूर्व सहरी विकास मन्त्री मञ्जु चौधरीको नाम पनि समानुपातिक सूचीमा प्रस्ताव गरिएको छ। उनीहरू सबै यसअघि सांसद वा संविधानसभा सदस्य भइसकेका नेता हुन्।
सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले समानुपातिकको पहिलो नम्बरमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन्। साथै डा. बिन्दा पाण्डे, रचना खड्का, खगेन्द्र राई, टीकाराम भट्टराई, शम्भु थापा, भीमज्वाला राई, पूर्णशोभा चित्रकार र शर्मिला कार्कीको नाम पनि समावेश गर्नुपर्नेमा उनीहरूको जोड थियो।
बैठकले पास गरेको समानुपातिक सूचीमा आवश्यक परिमार्जन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ। नयाँ अनुहारभन्दा पनि पुरानालाई नै दोहोर्याइएको सूचीले पार्टीभित्रै बहस चर्किने संकेत देखिएको छ।
प्रतिक्रिया