फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता सहभागी हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०८२, आईतवार ०७:४०

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुने भएका छन्। निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै सो विवरण सार्वजनिक गरेको हो।

प्रकाशित अन्तिम नामावलीअनुसार कुल मतदातामध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिलाअन्य २०० जना मतदाता रहेका छन्। आयोगले सम्बन्धित मतदाताले आफ्नो नाम सहजै हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली वेबसाइटमार्फत पनि सार्वजनिक गरेको जनाएको छ।

मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकहरूको विवरणसमेत समावेश गरी अन्तिम नामावली अद्यावधिक गरिएको हो।

२०७९ को तुलनामा करिब ९ लाखले मतदाता वृद्धि

विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुल मतदाता संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो। उक्त निर्वाचनको तुलनामा विसं २०८२ मा मतदाता संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको आयोगले जनाएको छ।

आयोगका अनुसार पुरुष मतदाता ५ लाख २२ हजार ५५२, महिला मतदाता ३ लाख ९२ हजार ५५२ र अन्य मतदाता १५ जनाले वृद्धि भएका छन्।

मतदानस्थल र केन्द्र पनि बढे

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गराउनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। यो संख्या २०७९ सालको निर्वाचनको तुलनामा ७५ मतदानस्थल र ८८५ मतदान केन्द्र बढी हो।

निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र सहभागितामूलक निर्वाचन सुनिश्चित गर्न सबै तयारी तीव्र पारिएको जनाएको छ।

प्रतिक्रिया