काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार राजनीतिक दल र जेनजी (Gen Z) को दोहोरो दबाबमा परेको बताएकी छन्। सरकारले अहिले पेन्डुलमजस्तै अवस्था भोगिरहेको उनको भनाइ छ। बिहीबार काठमाडौँमा आयोजित ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ को विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दलले तत्काल सत्ता छाड्न दबाब दिइरहेको र जेनजी पुस्ताले तत्काल परिवर्तन खोजिरहेको बताइन्। “हरेक राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाएका छन्,” उनले भनिन्, “सरकारले काम गरिरहे पनि बाहिरकाले त्यो देख्दैनन्। सबै कुरा एकैपटक हुनुपर्छ भन्ने अपेक्षा राखिन्छ, तर त्यसका लागि क्षमता पनि चाहिन्छ।” सरकारमाथि निरन्तर आलोचना भइरहेको गुनासो गर्दै उनले भनिन्, “हामी अचानोजस्तो भएका छौँ। सबैले आजै छोड भन्छन्। जेनजीले पनि आजै छोड, भोलि नै छोड भन्छ। हामी पेन्डुलमजस्तै भयौँ।” प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थामा सरकार छोडेर हिँड्ने अवस्था नरहेको जिकिर गरिन्। “वर्तमान सरकारले राजीनामा दिए अर्को सरकार आउनुपर्छ, तर आउने सरकारको अवस्था पनि उस्तै नहोला भन्न सकिँदैन,” उनले भनिन्। कार्यक्रममै उनले व्यङ्ग्यात्मक शैलीमा थपिन्, “छोड भन्दैमा छोडेर हिँड्दा भोलि तिमीहरूको औकात छोडेर हिँड्ने रहेछ भनेर भनिहाल्छन्। यहाँ कथाकारहरू हुनुहुन्छ, हाम्रो कथा पनि लेख्नुस्—मेरो, गृहमन्त्री र अर्थमन्त्रीको पनि।” प्रधानमन्त्री कार्कीले यस्तै अवस्था कायम रहे आगामी दिन सहज नहुने चेतावनी दिँदै भनिन्, “यस्तै मारकाट भयो भने के हुन्छ भन्ने चिन्ता छ। मलाई बंगलादेशजस्तो अवस्था नहोस् भन्ने लागेको हो।” उनले संसद्बाट छानिएर आउने व्यक्ति इमानदार हुनुपर्नेमा जोड दिँदै वर्तमान राजनीतिक शैलीप्रति असन्तुष्टि जनाइन्। “यो हिसाबले देश चल्दैन। युवा आउनुपर्यो। अहिले ५० वर्षसम्मकालाई म युवा मान्छु,” उनले भनिन्। दिनदिनै विदेशबाट नेपालीहरू डिपोर्ट भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले देश निर्माणको विकल्प नरहेको स्पष्ट पारिन्।
प्रतिक्रिया