काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
पार्टी प्रवक्ता मनिष झाले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ र ‘शून्य समय’ कार्यक्रममार्फत उम्मेदवारका आकांक्षीहरूले आफ्ना धारणा तथा योजना प्रस्तुत गर्ने जानकारी दिए। उनका अनुसार यसपछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने छ।
झाले दुई दिनपछि प्राइमरी भोटिङ हुने स्पष्ट पार्दै देशभरबाट निवेदन दिएका करिब ४०० जना आकांक्षी यस प्रक्रियामा सहभागी रहेको बताए। तीमध्येबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइने छ।
उनका अनुसार पुस ५ गते भएको छलफलमा विशेष कारणले सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका आकांक्षीहरूलाई पुनः छलफलमा सहभागी गराइने व्यवस्था मिलाइएको छ।
प्रारम्भिक निर्वाचनबाहेकका अन्य छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी प्रवक्ता मनिष झा र सचिवालय सदस्य दीपक बोहरालाई दिइएको छ। आवश्यकताअनुसार पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले सम्पूर्ण प्रक्रियाको अनुगमन गर्ने जनाइएको छ।
यसैगरी, प्रवासमा रहेका उम्मेदवारका आकांक्षीहरूको मूल्यांकन भने भर्चुअल माध्यम बाट गरिने पार्टीले जनाएको छ।
प्रतिक्रिया