जेनजी आन्दोलन जाँचबुझ आयोगलाई बयान नदिने केपी ओलीको अडान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०८२, सोमबार ०६:०४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै पनि हालतमा बयान नदिने अडान लिएका छन्। जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीसँग बयान लिने तयारी गरिरहेको चर्चा चलिरहेका बेला उनले आफू त्यसका लागि तयार नरहेको स्पष्ट पारेका हुन्।

एमालेको तेस्रोपटक अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक हिमालय टिभीको कार्यक्रम ‘यक्ष प्रश्न’ मा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा बोल्दै ओलीले बयान दिनुभन्दा बरु गोली खान र जेल जान तयार रहेको अभिव्यक्ति दिए।

सरकार पक्षबाट “बयान नदिए बल प्रयोग गरेर भए पनि ल्याइने” भन्ने भाषा आएको भन्ने प्रश्नमा ओलीले तीखो प्रतिक्रिया जनाउँदै भने, “बयान दिन मानेन भने गोली ठोके हुन्छ नि। यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसकेको छ, जाँच दिन्न भन्ने। यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली। उहाँहरूसँग बन्दुक छ नि। भएन भने आजीवन थुन्दिने, बयान नदिएको बापत।”

उनले आयोगका सदस्यहरू बयानका लागि भन्दै आफ्नै घरमा आए पनि आफूले चिया खुवाएर पठाउने बताए। “मैले कति पटक भनिसकें, बयान दिनुपर्ने छैन। तपाईंहरूले रिजल्ट निकालिसक्नुभएको छ, फेरि जाँच म किन दिने ?” भन्दै ओलीले प्रश्न उठाए।

ओलीले आयोगसँग संवाद नगर्ने होइन तर औपचारिक बयान दिनु व्यक्तिको स्वेच्छाको विषय भएको दाबी गरे। “यसको अर्थ उहाँहरूसँग बोलचाल बन्द गर्छु भनेको होइन। मेरो कुराकानी हुन्छ, कुरा हुन्छ। तर बयान भन्ने कुरा व्यक्तिको स्वेच्छाको कुरा होइन र ?” उनले भने।

ओलीको यो अभिव्यक्तिले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोग र राजनीतिक वृत्तमा थप तरंग ल्याएको छ।

प्रतिक्रिया