काठमाडौँ । नेपालका १० उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की आएपछि प्रहरी प्रशासन सतर्क बनेको छ। ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (EGN)’ नामक समूहले इमेलमार्फत धम्की पठाएको पुष्टि भएपछि उपत्यकाभरि सुरक्षा व्यवस्था कडा पारिएको हो।
धम्कीमा उल्लेखित व्यक्तिहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक गोपालबहादुर खड्का, पूर्वगृहमन्त्रीहरू रमेश लेखक र बालकृष्ण खाँण, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्वप्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी तथा व्यवसायी दुर्गा प्रसाईँ रहेका छन्।
धम्की सार्वजनिक भएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालयले उपत्यका अपराध अनुसन्धान कार्यालय तथा तीनै जिल्ला प्रहरी परिसरलाई पत्र पठाउँदै सम्बद्ध भिआइपीहरूका निवास, भ्रमणमार्ग र कार्यक्रमस्थलमा कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो।
प्रहरीले मातहतका सबै प्रहरी वृत्त तथा प्रभागहरूलाई
तीव्र गस्ती
नियमित पेट्रोलिङ
गोप्य सूचना संकलन
सादा पोसाकका प्रहरी परिचालन
गर्न आदेश दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले पनि तत्काल लागू हुने गरी निर्देशन जारी गर्दै, प्रत्येक भिआइपीसँग आवश्यक समन्वय गरी सम्पूर्ण सुरक्षा सतर्कतापूर्वक अपनाउन आग्रह गरेको छ। साथै, धम्कीमा नपरेका अन्य विशिष्ट व्यक्तिहरूको सुरक्षा पनि कडाइका साथ व्यवस्थापन गरिने जनाएको छ।
प्रहरीका अनुसार सम्भावित जोखिमलाई लक्षित गर्दै राजधानीमा सुरक्षा संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको छ।
प्रतिक्रिया