काठमाडौँ । सरकारले दुईजना सचिवको सरुवा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच अदल–बदल गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै मन्त्रालय/कार्यालयका सचिवहरूलाई एक–अर्को स्थानमा पठाउने निर्णय गरेको हो।
बैठकका निर्णयअनुसार, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, उक्त मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई निरौलाको सट्टामा सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको एक मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई जानकारी दिएका छन्।
निरौला श्रम मन्त्रालयमा साढे पाँच महिना बसेपछि माघ ४ गते सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका थिए। उनी १० महिना ११ दिनमै पुनः सिंहदरबार फर्किएका हुन्। उता, मैनाली गत जेठ १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (प्रशासनतर्फ) बाट पर्यटन मन्त्रालयमा सरुवा भएर आएका थिए।
प्रतिक्रिया