काठमाडौं । नेकपा एमालेमा चुनावी हारको समीक्षा र पार्टी पुनर्गठनका विषयमा देखिएको विवाद अझै टुंगिएको छैन। अध्यक्ष केपी शर्मा ओलीले चुनावी हारको नैतिक जिम्मेवारी र नेतृत्व हस्तान्तरणको विषय प्रतिवेदनबाट हटाउन चाहेको देखिएको छ भने महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले कार्यदलको प्रतिवेदन कार्यान्वयनमा जोड दिएका छन्।
बिहीबार भक्तपुरको गुन्डुस्थित निवासमा अध्यक्ष ओलीले कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसहितका नेतासँग छलफल गरेका थिए। छलफलपछि शुक्रबार प्रतिवेदन लेखन पूरा गर्ने, शनिबार कार्यदलबाट पारित गर्ने र आइतबार सचिवालय बैठकमा पेस गर्ने समझदारी भएको कार्यदल सदस्य लिलानाथ श्रेष्ठले बताए।
यसअघि काभ्रेको बलथलीमा बसेको कार्यदल बैठकमा सहमति जुट्न नसकेपछि थापा, पौडेल र पोखरेललाई दुवै पक्षका सुझाव समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय कमिटी बैठकअघि सचिवालय बैठक बसेर प्रतिवेदन पारित गर्ने तथा बैठकका एजेन्डा तय गर्ने विषयमा पनि छलफल भएको छ।
यसैबीच एमालेले संविधान दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। महासचिव पोखरेलको अध्यक्षतामा बसेको बैठकले असोज ३ गते बिहान ८ः३० बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।
देशभरका प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई स्थानीय आवश्यकता र विशेषताअनुसार प्रभातफेरी, दीप प्रज्वलन, विचार गोष्ठी, सरसफाइलगायत रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ।
प्रतिक्रिया