
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्याएपछि अहिले राजधानीका अस्पतालहरू बेपत्ता आफन्तको खोजी गर्ने परिवारका लागि आशा र पीडाको केन्द्र बनेका छन्।
बाढीमा परी कतिपयको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्। घरपरिवारका सदस्यहरू भने आफ्ना प्रियजन जीवितै भेटिने आशामा अस्पताल, उद्धार केन्द्र र शव राखिएका स्थानसम्म पुगेर खोजी गरिरहेका छन्।
काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा पनि यस्तै पीडित परिवारको भीड देखिन्छ। कोही हातमा आफन्तको फोटो बोकेर आएका छन्, कोही नाम दर्ता गराउँदैछन् भने कोही उद्धार गरिएका तथा घाइतेको विवरण खोज्दै भौँतारिरहेका छन्।
धादिङ गंगाजमुना–४ की रमीता बस्नेत बाँनिया आफ्ना आफन्तको खोजीमा ट्रमा सेन्टर पुगेकी छन्। उनका अनुसार मानसरोवर–कैलाश यात्राका क्रममा रसुवा पुगेको ५४ जनाको समूहमा रहेका उनका दाजु, अंकल, साथी र सानोबुवासहित धेरै जना बाढीपछि सम्पर्कविहीन भएका छन्।
उनीहरू ‘लाइफ होलिडे’मार्फत कैलाश यात्राका लागि रसुवा पुगेका थिए। समूहका सदस्यहरू टिमुरेमा बसेका थिए।
रमीताका अनुसार बिहान साढे ८ बजेसम्म उनीहरू कार्यालयको सम्पर्कमा थिए। त्यसपछि भने एकाएक सम्पर्कविहीन भएका हुन्।
“मेरो दाइ, अंकल, साथी अनि सानोबुवा हुनुहुन्छ। उहाँहरू टिमुरेमा बास बस्नुभएको थियो। ५४ जनाको ग्रुपमा नारायण बानियाँतर्फ २० जना हुनुहुन्थ्यो। बिहान साढे आठ बजेसम्म अफिसको सम्पर्कमा आउनुभएको थियो, त्यसपछि सम्पर्कमा हुनुहुन्न,” उनले भनिन्।
रमीताले विशेषगरी नारायण बानियाँको परिवारको अवस्था अत्यन्त संवेदनशील रहेको बताइन्। नारायणकी ६ वर्षीया छोरी र श्रीमती रहेको भन्दै उनले तत्काल खोजी तथा उद्धारलाई थप तीव्र बनाउन आग्रह गरिन्।
उनले बेपत्ता व्यक्तिहरूलाई कसैले देखेको वा उनीहरूबारे कुनै सूचना पाएमा तत्काल परिवारलाई जानकारी गराइदिनसमेत अपिल गरेकी छन्।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ साबुखानीका प्रकाश श्रेष्ठ पनि आफ्ना दाइ रुद्रबहादुर श्रेष्ठको खोजीमा ट्रमा सेन्टर पुगेका छन्।
उनका अनुसार रुद्रबहादुर भदौ १० गते रसुवा गएका थिए। त्यसयता तीन–चार दिनदेखि परिवारसँग सम्पर्क हुन सकेको छैन।
“मेरो दाइ रुद्रबहादुर श्रेष्ठ हराउनुभएको छ। तीन–चार दिनदेखि सम्पर्क हुन सकेको छैन। यही १० गते रसुवा जानुभएको हो,” प्रकाशले भने।
रुद्रबहादुरको परिवारमा श्रीमती र दुई जना बालबालिका छन्। परिवारजन अहिले उनी जीवितै भेटिने आशामा खोजीमा छन्।
सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ का विशाल नेपाली पनि बाढीपछि सम्पर्कविहीन छन्। उनको खोजीका लागि सीताराम नेपाली ट्रमा सेन्टर पुगेका छन्।
विशाल भ्यान चालक हुन्। उनी भदौ ९ गते बेलुका रसुवा पुगेका थिए। भोलिपल्ट बिहान करिब ७ बजेसम्म परिवारसँग सम्पर्कमा रहेको भए पनि त्यसपछि बाढी आएसँगै उनको फोन सम्पर्क विच्छेद भएको सीतारामले बताए।
विशालको खोजीमा शव भेटिएका स्थानदेखि घाइतेहरू राखिएका ठाउँ र उद्धार गरिएका क्षेत्रसम्म पुगे पनि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।
“लासहरू थुप्रै हेर्यौँ, उद्धार गरेका क्षेत्रमा पनि हेर्यौँ, तर उहाँ भेटिनुभएन। अहिलेसम्म बेपत्ता हुनुहुन्छ,” सीतारामले भने।
विशालको करिब छ महिनाअघि मात्रै विवाह भएको र परिवारमा श्रीमती रहेको उनले जानकारी दिए।
नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाका सन्तोष राई आफ्ना भाइसहित पाँच जना बेपत्ता भएको भन्दै खोजीका लागि काठमाडौं आएका छन्।
उनका करिब ३१ वर्षीय भाइ सञ्जीव राई विद्युतीय (ईभी) गाडी लिन टिमुरे भन्सार पुगेका थिए। उनी भदौ ९ गते साँझ करिब ७ बजे टिमुरे पुगेका थिए।
परिवारसँगको पछिल्लो कुराकानीमा उनले खाना खाएर करिब ११ बजे हिँड्ने बताएका थिए। बिहान साढे ८ बजेसम्म सम्पर्कमा रहेका सञ्जीव त्यसपछि भने सम्पर्कविहीन भएका हुन्।
सञ्जीवसँगै सोही समूहका करणबहादुर दमाई, चित्र बुढाथोकी, अनिल तामाङ र सुमन कार्की पनि बेपत्ता रहेको सन्तोषले जानकारी दिए।
सञ्जीव नयाँ ईभी गाडी काठमाडौं ल्याएर शोरुममा राखेपछि पुनः टिमुरे जाने तयारीमा थिए। उनका ११ वर्षका छोरा छन् भने श्रीमती रोजगारीका लागि दुबईमा रहेको परिवारले जनाएको छ।
नुवाकोटका बासुदेव पाण्डेका अनुसार रसुवा धारापानीका बलराम लामिछाने र उनका भाइ कृष्ण लामिछाने पनि बाढीपछि सम्पर्कविहीन छन्।
दुवै दाजुभाइ चीनबाट सामान ओसारपसार गर्ने चालकका रूपमा काम गर्दै आएका थिए। घटनाको अघिल्लो रातसम्म बलराम परिवारको सम्पर्कमा थिए। त्यसपछि भने दुवै दाजुभाइसँग सम्पर्क हुन नसकेको पाण्डेले बताए।
परिवारले उनीहरू बाढीमा फसेको हुनसक्ने आशंका गरेको छ।
बलरामको परिवारमा श्रीमती, तीन छोरी र एक छोरा छन्। उनका बुवासहित परिवारका दुई ज्येष्ठ सदस्यसमेत अशक्त अवस्थामा रहेको बताइएको छ। बुवाको स्वास्थ्य अवस्था पनि थप संवेदनशील रहेको परिवारले जनाएको छ।
परिवारजनले स्थानीय बाटो हुँदै रसुवा पुगेर खोजीको प्रयास गरे पनि कुनै जानकारी प्राप्त गर्न नसकेपछि काठमाडौं फर्किएका छन्। उनीहरूले अस्पताल तथा सम्भावित उद्धार केन्द्रमा समेत खोजी जारी राखेका छन्।
भोटेकोशी बाढीपछि काठमाडौंका ट्रमा सेन्टरसहित विभिन्न अस्पतालमा अहिले बेपत्ता आफन्तको खोजीमा आएका परिवारको भीड छ।
कसैको हातमा आफन्तको फोटो छ। कसैले नाम र विवरण दर्ता गराइरहेका छन्। कसैले घाइतेको सूची हेर्छन्, कसैले शवको विवरण खोज्छन्। हरेक अपरिचित अनुहारमा आफ्ना प्रियजनको झल्को खोजिरहेका छन्।
बाढीले घर, सम्पत्ति र संरचना मात्र बगाएको छैन—धेरै परिवारको खुसी, भरोसा र भविष्यसमेत अनिश्चित बनाएको छ।
तर यी परिवारका आँखामा अझै एउटा आशा बाँकी छ—‘सायद उहाँ कतै जीवित हुनुहुन्छ, सायद उद्धारको पर्खाइमा हुनुहुन्छ।’
त्यही आशाले उनीहरू अस्पतालदेखि उद्धार केन्द्रसम्म धाइरहेका छन्।
अहिले राज्यका सबै संयन्त्र, सुरक्षा निकाय, स्थानीयवासी र स्वयंसेवकको साझा जिम्मेवारी बेपत्ता नागरिकको खोजीलाई अझ तीव्र बनाउनु र प्रत्येक परिवारलाई सत्य सूचना उपलब्ध गराउनु हो।
बेपत्ता आफन्तको खोजीमा अस्पतालको ढोकामा बसेका ती परिवारको आँसु र प्रतीक्षाले एउटा कुरा स्पष्ट भनिरहेको छ—उद्धार केवल संख्या होइन, हरेक उद्धारका पछाडि एउटा परिवारको जीवन, आशा र भविष्य जोडिएको हुन्छ।
प्रतिक्रिया