चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २२९ वटा शव जमिनमुनि व्यवस्थापन गर्न सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बाढीले बगाएर ल्याएका तथा नदी किनारबाट संकलन गरिएका शव र शवका अवशेष सड्ने–गल्ने अवस्थामा पुगेपछि स्वास्थ्य विशेषज्ञहरूको सुझावका आधारमा जमिनमुनि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको हो।
जिल्ला सुरक्षा समिति चितवनको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शवलाई भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जंगल क्षेत्रमा व्यवस्थापन गर्न लागिएको प्रशासनले जनाएको छ।
शव व्यवस्थापनअघि प्रत्येक शव तथा अवशेषको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा विस्तृत अभिलेख राखिने प्रशासनले जनाएको छ।
यस प्रक्रियाबाट भविष्यमा बेपत्ता व्यक्तिका आफन्तले पहिचानका लागि दाबी गरेमा वैज्ञानिक परीक्षणका आधारमा शवको पहिचान गर्न सहज हुने बताइएको छ।
प्रशासनले शवहरू लामो समयसम्म राख्न नसकिने तथा स्वास्थ्य र सरसफाइसम्बन्धी जोखिम बढ्न सक्ने अवस्थाका कारण यो निर्णय गर्नुपरेको जनाएको छ।
शोक र पीडाको यस संवेदनशील घडीमा शव व्यवस्थापनसम्बन्धी निर्णयलाई सकारात्मक रूपमा बुझिदिन तथा आवश्यक सहयोग, समन्वय र सही सूचना सम्प्रेषणमा साथ दिन जिल्ला प्रशासन कार्यालयले सबैसँग आग्रह गरेको छ।
बाध्यात्मक परिस्थितिका कारण पीडित परिवार तथा सरोकारवालालाई पर्न सक्ने असुविधाप्रति प्रशासनले क्षमायाचनासमेत गरेको छ।
भोटेकोशीको विनाशकारी बाढीले बगाएर त्रिशूली तथा नारायणी नदी किनारसम्म पुगेका शवहरूको खोजी, पहिचान र व्यवस्थापन अहिले सम्बन्धित निकायका लागि चुनौतीपूर्ण बनेको छ। प्रशासनले भने मानवीय संवेदनशीलता, स्वास्थ्य सुरक्षा र वैज्ञानिक अभिलेखीकरणलाई प्राथमिकतामा राख्दै शव व्यवस्थापनको काम अघि बढाइएको जनाएको छ।
प्रतिक्रिया