रसुवाको ल्हेन्दे खोलामा पुनः भीषण बाढी, भोटेकोशी आसपास उच्च सतर्कता नारायणगढ–मुग्लिङ सडकखण्ड हुँदै काठमाडौं र पोखरा आवतजावत बन्द, सयौँ यात्रु बाटोमै अलपत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०८३, आईतवार ०७:०४

काठमाडौं । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आज बिहान पुनः भीषण बाढी आएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी तथा पहिरोको जोखिम तीव्र रूपमा बढेपछि सुरक्षा निकाय तथा स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न र सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेका छन्।

यसैबीच प्रहरीले मुख्य राजमार्गमा समेत सवारी साधनको आवागमन बन्द गरेको छ। चितवन प्रहरीले नारायणगढबाट मुग्लिङ हुँदै पोखरा तथा काठमाडौं जाने–आउने सबै प्रकारका सवारी साधनको आवागमन अर्को सूचना नआएसम्म पूर्ण रूपमा रोकिएको जनाएको छ।

मुख्य सडकखण्ड अवरुद्ध भएपछि ठूलो संख्यामा सवारी साधन तथा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। पहिरो तथा बाढीको जोखिमका कारण सडकमा थप क्षति हुनसक्ने भएकाले यात्रुलाई अनावश्यक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।

गत भदौ १० गते चीन–नेपाल सीमाक्षेत्र नजिकै हिमनदी (ग्लेशियर) खसेपछि ल्हेन्दे खोला हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो।

उक्त विपद्को क्षति तथा पीडा अझै पूर्ण रूपमा साम्य भइनसकेको अवस्थामा पुनः बाढी र पहिरोको जोखिम बढेपछि नदी आसपासका बस्तीमा त्रास फैलिएको छ।

प्रशासनले नदी तथा खोलाको किनार, पहिरोको जोखिम भएका क्षेत्र र क्षतिग्रस्त सडक तथा संरचनामा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, अत्यावश्यक बाहेकका यात्रा स्थगित गर्न, सुरक्षित स्थानमा बस्न र सुरक्षा निकायले जारी गरेका आधिकारिक सूचनालाई मात्र आधार बनाउन अनुरोध गरिएको छ।

प्रशासनको आग्रह : ज्यानको सुरक्षा पहिलो प्राथमिकता

अकस्मात् नदीको बहाव बढ्न सक्ने तथा पहिरो खस्न सक्ने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकले ढिलाइ नगरी सुरक्षित स्थानमा जानुपर्ने प्रशासनले जनाएको छ।

“बाढीको बहाव केही समय कम भयो भन्दैमा जोखिम टरिसकेको नठानौँ। नदी तथा खोलाको किनारमा नजाऔँ, अनावश्यक यात्रा नगरौँ र सुरक्षा निकायको निर्देशन पालना गरौँ,” प्रशासनको आग्रह छ।

अहिलेको अवस्थामा सावधानी नै सबैभन्दा ठूलो सुरक्षा भएकाले आफू सुरक्षित रहँदै परिवार, छिमेकी तथा समुदायलाई समेत सुरक्षित राख्न सम्बन्धित निकायले अपिल गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor