मोदीखोलामा भीषण बाढी : घान्द्रुक जोड्ने सडक अवरुद्ध, ७४ मेगावाट विद्युत् उत्पादन ठप्प

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८३, सोमबार ०६:०५

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीका कारण प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङ क्षेत्रमा आइतबार बिहानदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मोदीखोलामा पानीको बहाव अत्यधिक बढेको हो। बाढीले अन्नपूर्ण गाउँपालिका–८ र वडा नं. १० को सिमाना सेउलीबजार नजिक सडक कटान गरेपछि उक्त सडक पूर्ण रूपमा बन्द भएको हो।

बाढीले स्थानीय दिपिल गुरुङको घर तथा रेस्टुरेन्ट पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा पनि क्षति पुगेको छ। खोला किनारका बस्तीहरू उच्च जोखिममा परेका छन्।

अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरतमान गुरुङका अनुसार निरन्तर वर्षा भइरहेकाले बाढीको जोखिम अझै कायम छ। स्थानीयको सक्रियतामा केही सामान सुरक्षित स्थानमा सारिएको भए पनि हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन। उनले खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सडक अवरुद्ध भएपछि घान्द्रुक, लान्द्रुकलगायत पर्यटकीय गन्तव्यमा जाने सयौँ सवारीसाधन बाटोमै रोकिएका छन्। अन्नपूर्ण चक्रीय पदमार्गमा आएका स्वदेशी तथा विदेशी पर्यटकसमेत प्रभावित भएका छन्। कतिपय यात्रु गन्तव्यसम्म पुग्न पैदल यात्रा गर्न बाध्य भएका छन्। तत्काल सडक सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

मोदीखोलामा दिउँसो ३ बजेदेखि पानीको सतह उल्लेख्य रूपमा बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वत, जिल्ला प्रहरी कार्यालय पर्वत र मोदी गाउँपालिकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्। प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले नदी किनारमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।

यता, नदीमा पानीको बहाव अत्यधिक बढेपछि मोदीखोलामा सञ्चालित मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेका छन्। तल्लो मोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेका अनुसार चारवटै आयोजनाबाट उत्पादन रोकिँदा करिब ७४ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।

मोदीखोलाको पर्वत खण्डमा सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले थप सुरक्षाकर्मी परिचालन गरेको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor