काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सिङ कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि विशेष सुविधा वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उनीहरूको रात्रीकालीन भत्ता तथा यातायात खर्चमा उल्लेखनीय वृद्धि गरिएको हो।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रातको समयमा सेवा प्रदान गर्ने नर्सिङ कर्मचारीहरूले पाउँदै आएको रात्रीकालीन भत्तालाई दोब्बर बनाइने घोषणा गरे। लामो समयदेखि सीमित सुविधामा स्वास्थ्य सेवा दिँदै आएका नर्सिङ जनशक्तिको मनोबल उच्च बनाउन सरकारले यस्तो व्यवस्था गरेको जनाएको छ।
त्यसैगरी, देशभर प्राथमिक स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदान गरिँदै आएको यातायात खर्च पनि दोब्बर बनाइने भएको छ। साथै हाल उपलब्ध यातायात भत्तामा थप ५० प्रतिशत वृद्धि गर्ने विशेष व्यवस्था समेत बजेटमा समावेश गरिएको छ।
सरकारले स्वास्थ्य क्षेत्रमा अग्रपंक्तिमा खटिने जनशक्तिको कार्यक्षमता अभिवृद्धि, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले यी सुविधाहरू वृद्धि गरिएको जनाएको छ।
स्वास्थ्य सेवा प्रणालीको आधारस्तम्भ मानिने नर्सिङ कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाका लागि गरिएको यो व्यवस्था स्वास्थ्य क्षेत्रको मनोबल वृद्धि गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
प्रतिक्रिया