काठमाडौं। साझा यातायात ले काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु गरेको छ। सेवा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र चन्द्रगिरी नगरपालिका को सहकार्यमा सञ्चालनमा ल्याइएको हो।
रात्रिकालीन बस सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। एक रुट ललितपुरको लगनखेलबाट पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति र टिचिङ अस्पताल हुँदै बुढानिलकण्ठसम्म पुग्नेछ।
अर्को रुट थानकोटबाट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ। फर्किने बस विमानस्थलबाट पुनः थानकोटसम्म चल्नेछ।
नयाँ सडकलाई मुख्य ट्रान्जिट बिन्दु बनाइएको छ, जहाँबाट यात्रुहरूले रुट परिवर्तन गर्न सक्नेछन्।
यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा चारवटा सीसीटिभी क्यामेरा जडान गरिएको छ भने महानगरपालिकाले प्रत्येक बसमा नगर प्रहरी खटाउने व्यवस्था गरेको छ।
रात्रिकालीन बस सेवाले विशेषगरी श्रमिक, महिला तथा बेलुका काम गर्ने वर्गलाई सुरक्षित र सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया