काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरणअनुसार शिक्षामन्त्री सस्मित पोखरेल सँग विभिन्न स्थानमा उल्लेख्य सम्पत्ति रहेको देखिएको छ। उनले पेशागत आम्दानीबाट काठमाडौंमा २ वटा घर र विभिन्न ५ स्थानमा जग्गा रहेको उल्लेख गरेका छन्।
उनको सम्पत्ति विवरणमा आमा मिनाक्षी ओझाको नाममा काठमाडौं वडा नम्बर ४ मा करिब ४ करोड मूल्य पर्ने घर तथा कागेश्वरी मनोहरामा करिब ५ करोड मूल्यको अर्को घर रहेको उल्लेख गरिएको छ। ती घरहरू बुवाको पारिश्रमिक र पैतृक सम्पत्तिबाट निर्माण गरिएको जनाइएको छ।
यस्तै, काठमाडौं, ललितपुर र मोरङ जिल्लाका ५ स्थानमा रहेको जग्गा बुवा रमेशकुमार पोखरेल र आमा मिनाक्षी ओझाको नाममा रहेको छ। ती सबै जग्गाको कुल अनुमानित मूल्य ११ करोड ५० लाख रुपैयाँ रहेको बताइएको छ।
पोखरेलसँग करिब २५ तोला सुन (झण्डै ७५ लाख मूल्य) र १०० तोला चाँदी रहेको उल्लेख छ। साथै, तीनवटा बैंक खातामा गरी करिब साढे ४ लाख रुपैयाँ बचत रहेको जनाइएको छ। विभिन्न कम्पनीमा उनको झण्डै १ करोड ८० लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको पनि विवरणमा उल्लेख छ।
यसबाहेक, उनले दुईवटा बैंकबाट कुल ७५ लाख रुपैयाँ कर्जा लिएको जनाएका छन्। सवारी साधनतर्फ उनीसँग करिब ७० लाख रुपैयाँ मूल्यको विद्युतीय सवारी र ४० लाख रुपैयाँ बराबरको BYD Dolphin कार रहेको विवरणमा उल्लेख गरिएको छ।
प्रतिक्रिया