काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ले आफ्नो परिवारको सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गरेका छन्।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै देउवाले सञ्चारमाध्यमबाट आफू र परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको जानकारी पाएको उल्लेख गरेका छन्।
‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाह पाएँ,’ उनले लेखेका छन्, ‘हाम्रो बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भइरहेको छ।’
यसअघि काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा देउवा र उनकी पत्नी आरजु राणा विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई फरार सूचीमा राखिएको जनाइएको छ।
देउवाले आफू स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेको जानकारी गराएका छन्, तर बसेको देश खुलाएका छैनन्। स्रोतका अनुसार विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोल मार्फत ‘रेड नोटिस’ जारी गर्ने प्रक्रियाको तयारी भइरहेको बताइएको छ।
देउवाले सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरेको दाबी गर्दै लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन र पारदर्शिताप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
‘स्वास्थ्य उपचारका लागि हाल हामी विदेशमा छौँ र उपचार जारी छ,’ उनले भनेका छन्, ‘वास्तविकता समयसँगै खुल्दै जानेछ, अतिरञ्जित विवरणबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।’
प्रतिक्रिया