पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणः धरौटी आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०८२, बुधबार ०६:३६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालत को धरौटी आदेशप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत पुगेको छ।

अख्तियारले उक्त प्रकरणमा संलग्न निर्माण कम्पनी चाइना सीएमसी इन्जिनियरिङ का प्रतिनिधिसहित आरोपितहरूलाई थुनामै राखेर पुर्पक्ष गर्न माग गर्दै मंगलबार (चैत २४) निवेदन दर्ता गरेको हो।

विशेष अदालतले मुख्य आरोपितमध्ये रबिन रिजाललाई २५ लाख रुपैयाँ, रतीशचन्द्र लाल सुमनलाई ५ लाख रुपैयाँ र भीमप्रसाद आचार्यलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाडेको थियो। उक्त धरौटी रकम न्यून रहेको भन्दै अख्तियारले आदेश बदर गरी थुनामा राख्न माग गरेको छ।

त्यस्तै, साधारण तारिखमा छाडिएका डा. पुण्यराज शाक्य, हरिबहादुर खड्का र रोशन चित्रकारलाई पनि थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरिएको छ।

अख्तियारले उनीहरूविरुद्ध गत मंसिर २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आरोपितहरू बाहिर रहँदा प्रमाण नष्ट हुने तथा फरार हुने जोखिम रहेको भन्दै अख्तियारले अदालतको आदेश ‘बेरितको’ भएको प्रश्न उठाएको छ।

उक्त प्रकरणमा विमानस्थल निर्माणका क्रममा लागत अनुमान अस्वाभाविक रूपमा बढाएर करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बराबरको हानीनोक्सानी पुर्‍याइएको दाबी गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण का तत्कालीन पदाधिकारी र निर्माण व्यवसायीबीच मिलेमतोमा लागत इस्टिमेट बढाइएको आरोपसमेत लगाइएको छ।

प्रतिक्रिया

slot gacor