मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा विदेशी पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मार्चसम्म ४३ हजार ६५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।
एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ता का अनुसार उक्त अवधिमा सार्क राष्ट्रबाट ३७ हजार ९८९ जना तथा अन्य मुलुकबाट पाँच हजार ६७ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।
यसअघि सन् २०२५ को सोही अवधिमा कुल २८ हजार ७४४ जना विदेशी पर्यटक मुस्ताङ पुगेका थिए। त्यसमध्ये सार्क राष्ट्रबाट २४ हजार ८४७ जना र अन्य मुलुकबाट तीन हजार ८९७ जना थिए।
तुलनात्मक रूपमा सन् २०२६ को पहिलो तीन महिनामा सार्क राष्ट्रबाट आउने पर्यटक संख्या १३ हजार १४२ (३४.५९ प्रतिशत) ले वृद्धि भएको छ भने अन्य मुलुकबाट आउने पर्यटक संख्या एक हजार १७० (२३.०९ प्रतिशत) ले बढेको एक्यापले जनाएको छ।
वार्षिक तथ्यांक हेर्दा पनि मुस्ताङमा पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ। सन् २०२४ मा १ लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक भित्रिएका थिए भने सन् २०२५ मा उक्त संख्या बढेर १ लाख ६१ हजार १२२ पुगेको थियो।
प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण मुस्ताङ पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
प्रतिक्रिया