१९१ दिनको कार्यकाल पूरा गर्दै गृहमन्त्री अर्याल बिदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०८२, शुक्रबार ०५:४३

काठमाडौँ।  ओमप्रकाश अर्याल ले १९१ दिनको कार्यकाल पूरा गर्दै गृहमन्त्री पदबाट बिदा लिएका छन्। जेनजी आन्दोलनपछि उत्पन्न अन्योल, त्रास र अस्थिरताबीच जिम्मेवारी सम्हालेका उनले शान्ति–सुरक्षा कायम, सुशासन सुदृढीकरण र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु आफ्नो कार्यकालको मुख्य उपलब्धि भएको बताएका छन्।

भदौ २३ र २४ पछिको अवस्था जटिल रहेको उल्लेख गर्दै उनले देशमा कानुनी राज्य कमजोर बनेको, राज्य संयन्त्र निस्क्रिय भएको र नागरिक त्रासमा रहेको अवस्थालाई सामान्यीकरण गर्नु पहिलो प्राथमिकता रहेको बताए। ‘हामीले अवस्थालाई सामान्यीकरण गर्‍यौँ, त्यसपछि कानुनी राज्य पुनःस्थापना गर्‍यौँ,’ उनले भने, ‘सुशासनको अभावकै कारण विद्रोह भएको निष्कर्षसहित सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने काम अघि बढायौँ।’

जेनजी आन्दोलनपछि गठन भएको सरकारको प्रमुख जिम्मेवारी आवधिक निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै उनले सुरक्षाका चुनौतीबीच समयमै शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। कारागारबाट कैदी फरार हुने, हातहतियार लुटिने र राजनीतिक दलप्रति अविश्वास बढेको अवस्थाबीच निर्वाचन सम्पन्न हुनु ठूलो उपलब्धि भएको उनको भनाइ छ।

नवनिर्वाचित सांसदहरूले शपथ लिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेका बेला उनले मन्त्रालयबाट बिदा लिएका हुन्। उनका अनुसार अहिले देशमा कानुनी राज्य पुनःस्थापित भएको, सुशासनमा सुधार आएको र सेवा प्रवाहमा सकारात्मक परिवर्तन देखिएको छ।

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरिएको जानकारी दिँदै उनले स्मारक निर्माण, सहिद परिवारलाई राहत, घाइतेलाई परिचयपत्र र मासिक भत्ता दिने व्यवस्था गरिएको बताए। साथै आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न जेनजी परिषद् गठनको प्रक्रिया अघि बढाइएको छ।

उनले चार सयभन्दा बढी सुरक्षा संरचना पुनर्निर्माण, सुरक्षाकर्मीको मनोबल वृद्धि, र नागरिकसँगको सम्बन्ध सुधारलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे। ‘आदेश दिनेभन्दा समन्वय गर्ने नेतृत्व शैली अपनायौँ, जसले सुरक्षाकर्मीमा स्वामित्वको भावना विकास गर्‍यो,’ उनले बताए।

यस्तै, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत ल्याइएको, नागरिकता नियमावली जारी गरी हजारौँ नागरिकलाई सहजता प्रदान गरिएको र प्रविधिमार्फत अर्ली वार्निङ प्रणाली सञ्चालन गरिएको पनि उनले जानकारी दिए।

२०८२ भदौ ३० गते गृहमन्त्री नियुक्त भएका अर्यालले आफ्नो कार्यकालमा विपद् व्यवस्थापन, मिटरब्याज पीडितको समस्या समाधान र नागरिकता वितरण प्रक्रियामा सुधार ल्याउने काम भएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply