काठमाडौं । नेपाली कांग्रेस ले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकका लागि विशेष अभियान सञ्चालन गरिनेछ। यस क्रममा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइनेछ र वितरणका लागि १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइने व्यवस्था गरिएको छ।
वैशाख १ गतेदेखि मसान्तसम्म देशभरका ६ हजार ७४३ वडामा सदस्यता वितरण तथा अद्यावधिक गरिनेछ। सदस्यहरूले आफू आवद्ध वडाबाटै सदस्यता अद्यावधिक गर्नुपर्ने प्रावधान राखिएको छ।
कार्यतालिकाअनुसार जिल्लास्तरीय प्रारम्भिक छानबिन समितिमा परेका उजुरीहरू जेठ मसान्तसम्म केन्द्रमा पठाइनेछ भने केन्द्रले असार १५ गतेभित्र अन्तिम टुङ्गो लगाउनेछ। अद्यावधिक सदस्यहरूको नामावली असार मसान्तसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाइने व्यवस्था गरिएको छ।
त्यसैगरी, भदौ २ गतेभित्र वडा अधिवेशन सम्पन्न गरी प्रतिनिधि चयन गरिनेछ। भदौ ७ गते गाउँ तथा नगरपालिका अधिवेशन, भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन हुनेछ। असोज २ र ३ गते जिल्ला अधिवेशन सम्पन्न गरिनेछ।
महाधिवेशनसँग सम्बन्धित अन्य कार्यक्रमसमेत तय गरिएको र कुल १६ वटा निर्णय गरिएको पार्टीले जनाएको छ।
प्रतिक्रिया