काठमाडौं । रवि लामिछाने सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा भइरहेको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। अब उक्त मुद्दाको पेसी बिहीबारका लागि तोकिएको छ।
मंगलबार पनि बहस नसकिएपछि सर्वोच्च अदालत ले मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो। अदालतका प्रवक्ता अर्जुन कोइराला का अनुसार सोमबारदेखि सुरु भएको सुनुवाइमा रिट निवेदकतर्फको बहस सम्पन्न भइसकेको छ।
निवेदकतर्फ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई तथा अधिवक्ताहरू टिका कुँवर, उपेन्द्र राउत र अनुपम भट्टराई ले बहस गरेका थिए।
बिहीबारदेखि सरकारी वकिलतर्फको बहस सुरु हुने जनाइएको छ। त्यसपछि महान्यायाधिवक्ता सविता भण्डारी ले आफ्नो पक्षमा बहस गर्नेछिन् भने त्यसपश्चात् सरकारी वकिलहरूले प्रतिरक्षा बहस गर्ने कार्यक्रम रहेको छ। अन्तिम चरणमा लामिछाने पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन्।
उक्त मुद्दा न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमान को इजलासमा सुनुवाइ भइरहेको छ। यसअघि न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासले तीन दिन बहस सुनेर फाइल झिकाउने आदेश दिएको थियो।
महान्यायाधिवक्ता भण्डारीले २०८२ पुस ३० गते लामिछानेविरुद्ध कास्की जिल्ला अदालत, काठमाडौं जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत र पर्सा जिल्ला अदालत मा दायर मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्।
प्रतिक्रिया