सिंहदरबारभित्र संसदीय कार्यालय तयारी अन्तिम चरणमा, रास्वपालाई सबैभन्दा ठूलो कक्ष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०८२, मंगलवार ०६:५७

काठमाडौं ।  सिंहदरबार भित्रैबाट संघीय संसद् सञ्चालन गर्ने तयारीसँगै ६ राष्ट्रिय दलका संसदीय कार्यालय व्यवस्थापन अन्तिम चरणमा पुगेको छ।

सांसद संख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएको छ। अधिकांश स्थानमा रङरोगन, कार्पेट तथा फर्निचर जडानको काम सम्पन्न भइसकेको छ।

यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सबैभन्दा ठूलो कक्ष उपलब्ध गराइएको छ। सचिवालय भवन नं. २ मा रहेको उक्त कक्षमा १८० कुर्सीसहितको बैठक हल तयार गरिएको छ।

खर्च कटौतीलाई प्राथमिकता दिँदै रास्वपाले पुराना कार्पेट, पर्दा र फर्निचर पुनः प्रयोग गरेको छ। यसबारे कबिन्द्र बुर्लाकोटी ले नयाँ खरिदभन्दा उपलब्ध सामग्रीकै प्रयोग गर्न आग्रह गरेका थिए।

बैठक हलसँगै पदाधिकारीका लागि थप पाँच कक्ष पनि तयार पारिएको छ।

रास्वपाले यसअघि प्रयोग गर्दै आएको भवनमा भने नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय कार्यालय व्यवस्थापन गरिएको छ। ती कक्षमा रङरोगन सम्पन्न भइसकेको छ भने फर्निचर जडानको काम जारी छ।

त्यस्तै नेपाली कांग्रेसनेकपा एमाले लाई साबिककै संसदीय कार्यालयमा निरन्तरता दिइएको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार, यो व्यवस्थापन अल्पकालीन भए पनि संसद् बैठक सुरु हुनुअघि सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार भइसक्नेछन्।

प्रतिक्रिया

Leave a Reply