काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा जुटेको छ। झण्डै दुई तिहाइ बहुमत दाबी गरेको रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने तयारी गरिरहेको छ।
बालेनले हेरेको साइतअनुसार चैत १३ गते पर्ने रामनवमी का दिन उनले प्रधानमन्त्रीको शपथ लिने तयारी गरिएको स्रोतको दाबी छ। उक्त दिन सरकारले सार्वजनिक बिदा दिने प्रचलन रहेको छ।
बालेन निकट स्रोतका अनुसार उनी व्यक्तिगत रूपमा चिना र साइत हेर्ने गर्छन्। साथै एकजना तान्त्रिकको सल्लाहमा समेत निर्णय लिने गरेको उल्लेख गरिएको छ। सोही सल्लाहअनुसार नै उनले रामनवमीकै दिन शपथ लिने तयारी गरेको बताइएको छ।
यसअघि सार्वजनिक बिदाका दिन राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई शपथ गराउने अभ्यास नरहेको बताइन्छ। सो दिन राष्ट्रपति कार्यालय खुल्ने/नखुल्ने विषयमा औपचारिक धारणा सार्वजनिक भएको छैन।
तर रामचन्द्र पौडेल ले परिस्थितिअनुसार सोही दिन शपथ गराउन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ।
यसैबीच, बालेनले कालो कपडाप्रति विशेष झुकाव राख्ने र तान्त्रिक सल्लाहअनुसार नै प्रायः कालो पहिरन प्रयोग गर्ने गरेको चर्चा पनि छ। चुनावी प्रचारका क्रममा समेत उनले कालो टोपी, कालो चश्मा र कालो पोशाक प्रयोग गरेका थिए।
अब भने प्रधानमन्त्रीको शपथका बेला उनले कस्तो पहिरन रोज्नेछन् भन्ने विषयले थप चासो बढाएको छ।
प्रतिक्रिया