काठमाडौं । सर्वोच्च अदालतले महेश बस्नेतसँग अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
अधिवक्ता लबन न्यौपानेले गत बुधबार बस्नेतविरुद्ध अदालतको अवहेलना गरेको आरोप लगाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। प्रतिनिधिसभा विघटनसम्बन्धी अदालतमा विचाराधीन मुद्दाबारे सार्वजनिक अभिव्यक्ति दिँदै न्यायाधीशहरूलाई लक्षित गरेको भन्दै रिट दायर गरिएको हो।
रिटमा माघ ११ गते प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बस्नेतले दिएको अभिव्यक्तिलाई आधार बनाइएको छ। कार्यक्रममा उनले प्रधानन्यायाधीशलगायतका न्यायाधीशहरू विभिन्न कारणले निर्णय प्रक्रियाबाट पन्छिने, डराउने वा दबाबमा पर्ने जस्ता आरोप लगाउँदै टिप्पणी गरेका थिए।
त्यस्तै उनले नेपाल वैदेशिक आक्रमणको अवस्थामा रहेको भन्दै देशको न्याय प्रणाली कमजोर बनेको आशयको अभिव्यक्ति दिएको र अदालतको प्रतिष्ठामाथि प्रश्न उठाउने काम गरेको पनि रिटमा उल्लेख गरिएको छ।













प्रतिक्रिया