मुस्ताङको साङ्ता मतदान केन्द्रमा ३९ मतदाता, गाउँमा हाल एक जना मात्रै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०८२, मंगलवार ०६:५७

काठमाडौं । हिमाली जिल्ला मुस्ताङको दुर्गम साङ्ता मतदान केन्द्रमा कुल ३९ मतदाता रहे पनि हालसम्म गाउँमा एकजना मात्रै मतदाता उपस्थित रहेको जानकारी प्राप्त भएको छ।

साङ्ता गाउँ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत पर्छ। जोमसोमबाट डोल्पा जाने उकालो बाटो हुँदै पुग्नुपर्ने यस मतदान केन्द्र साङ्ता गाउँ स्थित हिमाली आधारभूत विद्यालयमा तोकिएको छ।

मतदान अधिकृत राजेश गुप्ता का अनुसार सोमबार कर्मचारी, सुरक्षाकर्मी, म्यादी प्रहरी तथा निर्वाचन सामग्रीसहित १३ जनाको टोली साङ्तातर्फ प्रस्थान गरेको छ। टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र कर्मचारी सहभागी छन्।

“साङ्ता गाउँमा ३९ मतदाता छन्। आजसम्म एकजना मात्र गाउँमा बसेका छन् भन्ने खबर छ। गाउँमा पुगेर तयारी गरेर हामी कुर्दै गर्छौं। निर्वाचनको दिनसम्म मतदाता फर्किने आशा छ। हामी अहिले बाटोमै छौँ,” मतदान अधिकृत गुप्ताले बताए।

मतदाता फर्काउने विषयमा स्थानीय मुखियासँग समन्वय भइरहेको जनाइएको छ। केही दिनअघि मात्र डोजर प्रयोग गरी हिउँ पन्छाएर बाटो सञ्चालनमा ल्याइएको थियो। पुनः हिमपात भए बाहिर रहेका मतदाता फर्किन कठिन हुने आशंका गरिएको छ।

निर्वाचन आयोग ले भौगोलिक विकटता र मतदाता संख्याका आधारमा मुस्ताङका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखेको छ। जिल्लाका २१ मतदान केन्द्र उच्च हिमाली क्षेत्रमा रहेकाले लेक लाग्ने समस्यालाई मध्यनजर गर्दै औषधिसहित कर्मचारी खटाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार ११ हजार ३२७ मतदाता रहेको मुस्ताङमा ५०० भन्दा बढी मतदाता भएका आठ मतदान केन्द्र, ३०० भन्दा बढी मतदाता भएका २१ केन्द्र तथा त्यसभन्दा कम मतदाता भएका १८ मतदान केन्द्र रहेका छन्।

प्रतिक्रिया

slot gacor