काठमाडौं । रामचन्द्र पौडेल ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय रूपमा सहभागी भई लोकतन्त्रलाई थप सुदृढ बनाउन सम्पूर्ण नागरिकलाई अपिल गरेका छन्।
सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपालको राजनीतिक इतिहासको जटिल परिस्थितिको निकासका रूपमा व्याख्या गरे। उनले उक्त निर्वाचनलाई केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसरका रूपमा उल्लेख गरे।
राष्ट्रपति पौडेलले भने, “यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको छ। यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइन, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर पनि हो।”
उनले विगतका वर्षहरूमा देशले लोकतान्त्रिक गणतन्त्र स्थापना, नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित तथा सङ्घीय शासन प्रणाली संस्थागत गर्न सफल भएको उल्लेख गरे। प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन, सामाजिक सुरक्षा कार्यक्रमको विस्तार तथा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा भएको प्रगतिलाई उनले जनताको बलिदान र सक्रिय सहभागिताको परिणामका रूपमा व्याख्या गरे।
यद्यपि सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र प्रभावकारी सेवा प्रवाहका क्षेत्रमा अझै सुधार आवश्यक रहेको औँल्याउँदै उनले आगामी निर्वाचनले लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।
“यो निर्वाचनले निरङ्कुशताविरुद्ध लामो संघर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ,” उनले भने, “र हाम्रो लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउनेछ।”
राष्ट्रपतिले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा पनि यस निर्वाचनलाई लिन आग्रह गरे। निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायलाई पूर्ण प्रतिबद्ध रहन आह्वान गरे।
“मतभिन्नता स्वाभाविक हो, तर सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान हाम्रो साझा मूल्य हुनुपर्छ,” राष्ट्रपतिले भने, “आउनुहोस्, हामी सबै मिलेर लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी बनौँ।”
प्रतिक्रिया