काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारले आज (सोमबार) प्रचारप्रसार गर्ने अन्तिम अवसर पाएका छन् । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवार तथा राजनीतिक दलले त्यसअघि मात्र प्रचार अभियान सञ्चालन गर्न पाउनेछन् । फागुपूर्णिमा पर्वसमेत परेकाले कतिपय उम्मेदवारले अन्तिम दिन आन्तरिक छलफल र रणनीति बैठकमा केन्द्रित भएका छन् ।
प्रतिनिधि सभा निर्वाचन, २०८२ का लागि सोमबार मध्यरातिदेखि मौन अवधि लागू हुने जानकारी निर्वाचन आयोग ले दिएको छ । आयोगका अनुसार मतदानको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न पाइँदैन ।
आयोगले मौन अवधिमा पालना गर्नुपर्ने आचरणसमेत तोकेको छ । यस अवधिमा सभा, सम्मेलन, अन्तर्क्रिया, कार्यशाला, गोष्ठी जस्ता कार्यक्रम गर्न नपाइनेछ । मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था छ । कुनै पनि माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार गर्न कडाइका साथ निषेध गरिएको छ ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिनसमेत रोक लगाइएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर गरिने प्रचार पनि निषेध गरिएको आयोगले जनाएको छ । मौन अवधिमा पहिले राखिएका प्रचारात्मक पोस्टसमेत हटाउनुपर्ने आयोगको निर्देशन छ ।
सञ्चारमाध्यमका लागि पनि विशेष आचारसंहिता लागू गरिएको छ । मतदानको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन, टक शो, विश्लेषण, टिप्पणी तथा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न नपाइने आयोगले स्पष्ट पारेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले मौन अवधिमा आचारसंहिता उल्लंघन गरे उम्मेदवारको मनोनयन नै खारेज हुन सक्ने चेतावनी दिएका छन् । उनले उम्मेदवारले यो समयलाई समीक्षा र भविष्यको योजना बनाउन प्रयोग गर्नुपर्ने बताए ।
आयोगका अनुसार मौन अवधिमा विशेष निगरानी गरिनेछ र अनुगमन अधिकारी खटाइएको छ । निर्वाचनलाई असर पार्ने गतिविधि गरेको पाइएमा मनोनयन रद्द हुने मात्र होइन, सम्बन्धित उम्मेदवारले आगामी छ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया