प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा, ६५ दल प्रतिस्पर्धामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०८२, आईतवार ०७:२०

काठमाडौं ।  निर्वाचन आयोग नेपाल ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मतपत्र, मतपेटिका तथा आवश्यक निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको आयोगले जानकारी दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार पहाडी तथा हिमाली जिल्लाका मतदान अधिकृतहरू सामग्रीसहित कार्यक्षेत्रतर्फ प्रस्थान गरिसकेका छन् भने तराई–मधेस र सहरी जिल्लामा तालिम तथा अनुशिक्षण जारी छ।

देशभर १०,९६७ मतदानस्थलमा २३,११२ मतदान केन्द्र निर्धारण गरिएका छन्। १४३ अस्थायी मतदानस्थल पनि तय गरिएको छ। कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता मतदानका लागि योग्य छन्, जसमा एक लाख ८६ हजार १४२ अस्थायी मतदाता रहेका छन्।

६५ राजनीतिक दल चुनावी मैदानमा

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ ३,४०६ उम्मेदवार (३,०१७ पुरुष, ३८८ महिला र १ अन्य) चुनावी मैदानमा छन्। समानुपातिकतर्फ ३,१३५ उम्मेदवार (१,३६३ पुरुष र १,७७२ महिला) प्रतिस्पर्धामा छन्।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ।

सुरक्षा व्यवस्था कडा

निर्वाचन सुरक्षाका लागि ७९,७२७ नेपाली सेना, ७५,७९७ नेपाल प्रहरी, ३४,५६७ सशस्त्र प्रहरी बल नेपाल, १,९२१ राष्ट्रिय अनुसन्धान विभाग र १,४९,०९० म्यादी प्रहरी परिचालित हुनेछन्।

निर्वाचनमा दुई लाख १५ हजार कर्मचारी खटिने आयोगले जनाएको छ। प्रत्यक्ष र समानुपातिकतर्फ गरी चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ सम्पन्न भएको छ।

चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन्। आयोगले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि सबै पक्षसँग सहयोगको अपिल गरेको छ।

प्रतिक्रिया

slot gacor