काठमाडौं । BBC World Service ले नेपालमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी सार्वजनिक गरेको ४१ मिनेट लामो डकुमेन्ट्रीले देशभर नयाँ बहस सिर्जना गरेको छ। डकुमेन्ट्रीमा दुर्लभ फुटेजहरूसँगै केही नयाँ सूचनाहरू समावेश गरिएको दाबी गरिएको छ।
डकुमेन्ट्री अनुसार, भदौ २३ गतेको आन्दोलनमा १९ जना युवाको गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ। प्रदर्शनकारीहरूले संसद भवनतर्फ आक्रमण गर्दा र प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको र त्यसक्रममा गोली चलेको जनाइएको छ।
मारिएका मध्ये १७ वर्षीया श्रीयम चौलागाईंको घटनालाई विशेष रूपमा प्रस्तुत गरिएको छ। डकुमेन्ट्रीमा उनी अग्रपंक्तिमा नरहे पनि मुठभेडबाट बच्न खोज्दा गोली लागेर ढलेको दृश्य देखाइएको दाबी गरिएको छ। प्रदर्शनकारीहरूले संसद भवनको पर्खाल भत्काएर गेटमा आगजनी गरेपछि प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रयोग गरेको तथा पछि गोली चलाइएको उल्लेख छ।
बीबीसीले डकुमेन्ट्रीमा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको कलसाइन ‘पिटर १’ बाट गोली चलाउने आदेश आएको दाबी गरेको छ। प्रहरीको आन्तरिक प्रतिवेदनलाई आधार बनाउँदै उनलाई मुख्य जिम्मेवार ठहर गरिएको दाबी गरिएको छ।
तर नेपाल प्रहरी ले उक्त रिपोर्टप्रति असहमति जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले डकुमेन्ट्रीमा उल्लेख गरिएको प्रहरी कलसाइन संवाद आधिकारिक नभएको बताएका छन्। उनका अनुसार, प्रहरी संगठनले यसअघि पत्रकार सम्मेलनमार्फत सबै तथ्य सार्वजनिक गरिसकेको र उक्त डकुमेन्ट्रीलाई आधिकारिक मान्न नसकिने स्पष्ट पारेका छन्।
डकुमेन्ट्रीमा जेनजी अभियन्ता रक्षा बमको भूमिका पनि उल्लेख गरिएको छ। उनले आन्दोलन हिंसात्मक नहुने दाबी गरे पनि जलिरहेको सिंहदरबार अगाडि सेलिब्रेसन गरेको दृश्य समावेश नगरिएको भन्दै सामाजिक सञ्जालमा थप बहस भइरहेको छ।
डकुमेन्ट्री सार्वजनिक भएसँगै घटनाको निष्पक्ष छानबिन, अभिव्यक्ति स्वतन्त्रता र सुरक्षा निकायको जवाफदेहिता सम्बन्धी बहस पुनः चर्किएको छ।













प्रतिक्रिया