काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारीका क्रममा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न स्पष्ट निर्देशन दिएको छ।
आयोगले प्राप्त गुनासो तथा उजुरीका आधारमा कुनै पनि दल, उम्मेदवार, दलका कार्यकर्ता वा आम नागरिकले प्रचारप्रसारमा अवरोध पुर्याउन नहुने चेतावनी दिएको हो। निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्थाबारे आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ (खण्ड ङ) मा कुनै दल, उम्मेदवार वा भ्रातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक वा अन्य कार्यक्रम बिथोल्न नहुने स्पष्ट व्यवस्था गरिएको छ।
त्यसैगरी, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३को दफा २० अनुसार प्रचारप्रसारमा बाधा पुर्याउने, थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ।
आयोगले स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवालाको जिम्मेवारी रहेको भन्दै आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।













प्रतिक्रिया