काठमाडौँ–५ का लागि प्रदीप पौडेलको प्रतिज्ञापत्र सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०८२, मंगलवार ०६:५७

काठमाडौँ । प्रदीप पौडेल ले काठमाडौँ–५ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका पौडेलले क्षेत्रको विकास र नीतिगत सुधारलाई केन्द्रमा राख्दै विभिन्न प्रतिबद्धता अघि सारेका हुन्।

उनले यसअघि काठमाडौँ–५ बाट निर्वाचित सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीका रूपमा काम गर्दा गरेका प्रतिबद्धता पूरा गर्न इमान्दारीपूर्वक प्रयास गरेको बताए। चक्रपथको दोस्रो खण्ड निरन्तरता, सामाखुसी–टोखा सडक, विष्णुमती करिडोर र साङ्लेखोला करिडोरजस्ता पूर्वाधार आयोजना अघि बढेको उनको दाबी छ।

शिक्षा र स्वास्थ्य प्राथमिकतामा

पौडेलले क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई ‘स्मार्ट स्कुल’ बनाउने, स्थानीय मातृभाषा नेवारी र तामाङ तथा मौलिक सीप–ज्ञानलाई पाठ्यक्रममा समावेश गर्न स्थानीय तहसँग सहकार्य गर्ने बताए।

सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई यसलाई योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विस्तार गरिने उनको प्रतिबद्धता छ।

काठमाडौँ–५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल लगायत केन्द्रीय अस्पतालहरूको क्षमता विस्तार गर्ने योजना उनले सार्वजनिक गरे।

व्यवसाय, प्रविधि र युवा

संघीय संसदमार्फत व्यवसायमैत्री कानुन निर्माणमा पहल गर्दै झन्झटिलो व्यवसाय दर्ता तथा बन्द प्रक्रियालाई सरल बनाउने उनले बताए।

युवालाई लक्षित गर्दै एआई र डिजिटल मार्केटिङजस्ता विषयमा उच्चस्तरीय तालिम प्रदान गरी क्षेत्रलाई ‘डिजिटल इनोभेसन हब’ बनाउने नीति ल्याइने उल्लेख छ। विश्वविद्यालयमार्फत अनुसन्धान तथा विकास प्रवर्द्धन, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीतिनिर्माण र नेपालकै ‘लार्ज ल्याङ्ग्वेज मोडल’ विकासका लागि पूर्वाधार निर्माणमा पहल गर्ने उनको प्रतिबद्धता छ।

संस्कृति, पर्यटन र पूर्वाधार

हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, धुम्बाराहीलगायत ऐतिहासिक क्षेत्रलाई खुला सङ्ग्रहालय र पर्यटकीय गन्तव्यका रूपमा विकास गरी ‘भ्याली सिटी टुर’मा समावेश गर्ने योजना अघि सारिएको छ। टोखाको बिस्का नखः, पाँहाचह्रे तथा हाँडीगाउँको चोखःते नारायणजात्राजस्ता सांस्कृतिक सम्पदाको ‘ब्रान्डिङ’ गरिने उल्लेख छ।

टुकुचा, धोबिखोला, सामाखुसी र साङ्ला खोलामा देखिएको ढल तथा डुबान समस्या समाधानका लागि ‘स्ट्रोम वाटर ड्रेनेज’ प्रणालीको व्यवस्था गरिने प्रतिबद्धता पनि जनाइएको छ।

यस्तै, टोखा–छहरे सुरुङमार्ग र रसुवा–केरुङ राजमार्गलाई व्यापारिक ‘लाइफलाइन’ का रूपमा विकास गर्न पहल गर्ने, चक्रपथ विस्तार, नारायणगोपाल चोकमा अन्डरपास तथा फ्लाइओभर निर्माणलाई प्राथमिकता दिने उल्लेख छ।

पौडेलले धनेश्वर खेलमैदानलाई राष्ट्रियस्तरको रंगशालामा स्तरोन्नति गर्ने तथा भूत्हया दह क्षेत्रको ११४ रोपनी सरकारी जग्गामा पिकनिक स्पट र ध्यान केन्द्र विकास गर्ने योजना पनि प्रतिज्ञापत्रमा समेटेका छन्।

प्रतिक्रिया

slot gacor