निर्वाचन आयोगको आह्वान: शिक्षक–कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०८२, मंगलवार ०६:५०

काठमाडौँ ।  निर्वाचन आयोग नेपाल ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न नहुन आह्वान गरेको छ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा केही प्राध्यापक, शिक्षक तथा कर्मचारी दल तथा उम्मेदवारको पक्षमा प्रचारमा संलग्न भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकाले यस्तो चेतावनी जारी गरिएको उल्लेख छ।

निर्वाचनको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले ‘निर्वाचन आचारसंहिता, २०८२’ लागू गरेको जनाएको छ। आचारसंहिताको पूर्ण पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व भएको र सोको कार्यान्वयनबारे आयोगले निरन्तर अनुगमन गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले बताएका छन्।

कानुनी व्यवस्था के भन्छ?

शिक्षा ऐन, २०२८ को दफा १६ ङ. उपदफा (५) को खण्ड (छ) अनुसार शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने व्यवस्था छ।

त्यसैगरी ‘निर्वाचन आचारसंहिता, २०८२’ को दफा १० को खण्ड (क) मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालयसँग सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने स्पष्ट उल्लेख छ। खण्ड (ग) अनुसार शैक्षिक संस्थाका सवारीसाधन, भवन वा अन्य सामग्री राजनीतिक गतिविधिका लागि प्रयोग गर्न दिन पनि नपाइने व्यवस्था गरिएको छ।

आयोगले शैक्षिक संस्थामा कार्यरत व्यक्तिहरूलाई आफ्नो पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिताविपरीत हुने गतिविधिमा संलग्न नहुन सचेत गराएको छ।

आचारसंहिता उल्लंघन गरी चुनावी प्रचारप्रसारमा संलग्न भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही गरिने पनि आयोगले जनाएको छ। साथै जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत तथा सम्बन्धित कार्यालयलाई प्रभावकारी अनुगमन गर्न निर्देशन दिइएको छ।

प्रतिक्रिया