साँखुको प्राचीन गुंविहार, बज्रयोगिनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८२, आईतवार ०६:२०

काठमाडौं। काठमाडाैंको शङ्खरापुर नगरपालिका साँखुको प्रख्यात एवम् प्राचीन बज्रयोगिनी मन्दिर छ । यसकै दायाँतर्फ प्राचीन गुंविहार छ । नेपाल भाषामा ‘गुं’ को अर्थ जङ्गल हो। त्यसैले यसलाई जङ्गलमा रहेको विहार भनिएको हो ।

नेपालमा रहेको प्राचीन बौद्ध बिहारमध्ये यस विहारलाई सबैभन्दा पुरानो प्रसिद्ध विहारको रूपमा मानिएको छ। गोपालराज वंशावली मल्लकालमा साँखु बज्रयोगिनी प्राचीन विहारलाई पछि गुंविहार भनिएको हो।

यसलाई पदम गिरी धर्म धातु महाविहारको नामले पनि चिनिन्छ। यही स्थानबाट बौद्ध धर्मले विस्तारित स्वरूप लिएको विश्वास गरिन्छ। यो विहार बाहिरबाट हेर्दा प्यागोडा शैलीबाट निर्माण गरेको दुईतले मन्दिर निकै नै आकर्षक र कलात्मक शैलीको देखिन्छ। यस मन्दिरभित्र भगवानको चैत्य मूर्ति रहेको छ। यस मन्दिरभित्र प्रथम पूजा सम्पन्न गरेपछि मात्र अन्य देवी देवस्थानहरूको पूजा अर्चना बज्रयोगिनी स्थानमा हुने गर्दछ।

विश्वका अन्य चैत्य स्थानहरूमा यसरी मन्दिर निर्माण गरिएको हुँदैन। यसरी भगवान् चैत्यलाई प्यागोडा शैलीको मन्दिरले छोपेको विश्वको एक मात्र बिहार मन्दिर भएको अग्रजहरूको भनाइ छ ।

यो विहार लिच्छवी कालभन्दा पहिलेको हुन् भनी धनवज्र बज्राचार्य र मेरीस्लसर जस्ता थुप्रै विद्वानहरूले अनुमान गरेको कुरा साँखुस्थित बौद्ध विहारहरुः एक अध्ययन पुस्तकमा उल्लेख गरिएको छ।

यस विहारको निर्माण कहिले भयो भन्ने विषयमा ऐतिहासिक तथ्य फेला नपरे पनि सम्राट् अशोकको धर्मदूत मण्डल मज्झिम थरको नेतृत्वमा हिमवन्त प्रदेशमा आई बुद्ध धर्म प्रचार गरेको कुरा सिंह ली महावासले चर्चा गरेको छ। यस गुंविहारको प्रवेशद्वार अगाडि १३ वटा मण्डल छन्। मन्दिरका वरिपरि निकै प्राचीन शिलालेख रहेका छन्। यस विहारभित्र तस्बिर खिच्नमा रोक लगाइएको छ।

प्रतिक्रिया

slot gacor