अस्टिन, टेक्सास । नेपाली समुदायमा दसैँ–तिहारको रौनक बढाउने र स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको टेक्सासस्थित अस्टिनमा तीनदिने दसैँ–तिहार मेला आयोजना हुने भएको छ। मेलामा खानपान, लत्ताकपडा, गरगहना, हस्तकलाका सामग्रीदेखि चाडपर्वमा आवश्यक पर्ने विभिन्न वस्तुका स्टल रहनेछन्।
इजी पिपल सप्लायर्स एलएलसीको आयोजनामा हुने मेलामा किनमेलसँगै नेपाली समुदायबीच भेटघाट, सांस्कृतिक आत्मीयता र मनोरञ्जनको अवसरसमेत उपलब्ध हुनेछ। आयोजकका अनुसार मेलाका तीनै दिन डिजे संगीतको व्यवस्था गरिनेछ।
इजी पिपल सप्लायर्सका सञ्चालक कुशल नहर्कीले मेलाको उद्देश्य नाफा कमाउनु मात्र नभई स्थानीय व्यवसायीलाई एउटै मञ्चमा जोड्नु र उनीहरूका उत्पादन तथा सेवाको प्रचारप्रसारमा सहयोग गर्नु रहेको बताए।
उनका अनुसार तीन दिनका लागि स्टल शुल्क २०० अमेरिकी डलर निर्धारण गरिएको छ। उक्त शुल्कमा व्यवसायीलाई टेन्ट, टेबल र कुर्सी उपलब्ध गराइनेछ। साना व्यवसायी, घरेलु उत्पादनकर्ता तथा घरबाटै सामान बिक्री गरेर व्यवसाय सञ्चालन गरिरहेकाहरूले पनि मेलामा सहभागी हुन सक्नेछन्।
चाडपर्वको समयमा आफ्ना उत्पादन बिक्री गर्न, नयाँ ग्राहकसँग परिचित हुन र व्यवसाय विस्तारको अवसर खोजिरहेका व्यवसायीका लागि मेला उपयोगी हुने आयोजकको विश्वास छ। हालसम्म धेरै व्यवसायीले चासो देखाएको र स्टल बुकिङसमेत भइरहेको जनाइएको छ।
मेलामा जम्मा २० वटा स्टल रहने भएकाले सहभागी हुन इच्छुक व्यवसायीलाई समयमै बुकिङ गर्न आयोजकले आग्रह गरेका छन्।
मेलामा साडी, कुर्ता तथा अन्य परम्परागत पोसाक, गरगहना, उपहार सामग्री, घर सजावटका वस्तु, पूजा सामग्री, सौन्दर्य सामग्री, मेहन्दी, अल्टर तथा थ्रेडिङ सेवा र घरेलु उपयोगका सामान उपलब्ध हुनेछन्। खानपानका विभिन्न परिकारले पनि मेलामा आउने आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
मेलामा मनपसन्द सुपरमार्केट, साइलीको बुटिक, अल्टर एन्ड थ्रेडिङ, गोर्खा बर्गर, आपका बजार सुपरमार्केट, निम्तो किचन, लाली सन र डग च्युलगायतका व्यवसायी सहभागी हुने जनाइएको छ।
आयोजकले अस्टिन, फ्लुगरभिल तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई परिवार र साथीभाइसँग मेलामा सहभागी हुन निमन्त्रणा दिएका छन्। चाडपर्वको व्यस्तताबीच भेटघाट गर्ने, खुसी साटासाट गर्ने, नेपालीपनको आत्मीयता अनुभव गर्ने र स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने अवसरका रूपमा मेलालाई लिइएको छ।
मेलास्थल: 12625 N Interstate Hwy 35, Austin, TX 78753
स्टल बुकिङ तथा जानकारीका लागि:
आयोजकले सीमित स्टल रहेकाले इच्छुक व्यवसायीलाई समयमै फोन वा सन्देशमार्फत सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया