बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो, मूल्य ५० हजार रुपैयाँसम्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०८३, शुक्रबार ०७:१७

बागलुङ । बडादसैँ नजिकिएसँगै बागलुङ बजारमा हिमालपारिको जिल्ला मुस्ताङ हुँदै भेडा–च्याङ्ग्रा भित्रिन थालेका छन्। दसैँमा च्याङ्ग्राको मासु खाने परम्परा र कोसेलीका रूपमा लैजाने चलनका कारण मूल्य बढे पनि बजारमा यसको माग कायम रहेको व्यापारीहरूले बताएका छन्।

यस वर्ष बागलुङ बजारमा रोज्जा च्याङ्ग्राको मूल्य प्रतिगोटा ४५ हजारदेखि ५० हजार रुपैयाँसम्म पुगेको छ। डोल्पा र मुस्ताङबाट च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएका व्यापारी तेन्जिङ तार्के तामाङका अनुसार गोठमै च्याङ्ग्राको मूल्य ३२ हजारदेखि ३७ हजार रुपैयाँसम्म पर्ने गरेको छ।

तामाङले यसपटक डोल्पा र मुस्ताङबाट २०० च्याङ्ग्रा ल्याएकामा १०० वटा बागलुङ र १०० वटा पोखरा पठाएको बताए। उनका अनुसार च्याङ्ग्रा बिक्रीका लागि करिब २५ दिनको पैदलयात्रा गर्नुपरेको थियो।

“तीन वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएको छु। दसैँको समयमा बागलुङ र पोखराका लागि डोल्पा र मुस्ताङबाट च्याङ्ग्रा ल्याउँछु। यसपटक पनि गोठबाट ३२ हजारदेखि ३७ हजार रुपैयाँसम्ममा खरिद गरेर ल्याएको हुँ। माग घटेको छैन, दसैँअघि नै बिक्री गरिसक्ने योजना छ”, तामाङले भने।

हिमपातका कारण यस वर्ष च्याङ्ग्रा ल्याउन कठिन भएको उनको अनुभव छ। गत वर्षको तुलनामा यसपटक आयात कम भएकाले व्यापार राम्रो हुने उनको अनुमान छ।

बागलुङका अर्का व्यापारी बलबहादुर थापाले दसैँलाई लक्षित गरी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार २०० रुपैयाँमा बिक्री गरिरहेको बताए। मूल्य बढेकाले यस वर्ष च्याङ्ग्रा कम मात्रामा ल्याएको उनको भनाइ छ।

मुस्ताङबाट च्याङ्ग्रा ल्याउन सडक अवरोध, बाढीपहिरो र मूल्यवृद्धिले समेत प्रभाव पारेको व्यापारीहरू बताउँछन्। मुस्ताङको छोसेर, कागबेनी र चमरलगायत क्षेत्रबाट भेडा–च्याङ्ग्रा खरिद गरी बागलुङ हुँदै पोखरासम्म पुर्‍याउने गरिएको छ।

“स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ। दसैँमा च्याङ्ग्रा खाने परम्परा भए पनि मूल्य बढेकाले सबै उपभोक्ताले किन्न सक्ने अवस्था छैन। रोज्जा च्याङ्ग्राकै मूल्य ५० हजार रुपैयाँसम्म पर्छ”, व्यापारी थापाले भने।

हिमाली क्षेत्रमा पालिएका भेडा–च्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने जनविश्वासका कारण दसैँ तथा तिहारमा यसको माग बढ्ने गरेको छ। तर, यस वर्षको मूल्यवृद्धिले च्याङ्ग्राको मासु धेरै उपभोक्ताका लागि महँगो बनेको छ।

मुस्ताङबाट यस वर्ष १३ हजार ८१७ भेडा–च्याङ्ग्रा म्याग्दी र बागलुङ हुँदै पोखरा तथा काठमाडौंलगायत अन्य जिल्लामा निकासी भएका छन्। हालसम्म ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी अन्य जिल्लामा पठाइएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor