काठमाडौं । दुर्गा पक्ष अर्थात् बडादसैँको नवरात्रको छैटौँ दिन आज देशभरका दुर्गा भवानीका मन्दिर तथा घरघरका पूजा कोठामा नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विशेष पूजा गर्ने प्रचलन छ। धार्मिक मान्यताअनुसार देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ।
पौराणिक कथनअनुसार देवताहरूको कार्य सिद्ध गर्न भगवती देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कुमारीका रूपमा अवतार लिएकी थिइन्। उनको बाल सौन्दर्यबाट प्रभावित भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी रहन गएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ।
नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौँको जमरा राखिएको थियो। त्यसयता क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा र स्कन्दमाता देवीको पूजा आराधना गरिएको छ। आज छैटौँ दिन कात्यायनी देवीको पूजा गरिँदैछ भने सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिने परम्परा छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीका नौ स्वरूपको पूजा आराधना गरिने भएकाले यस अवधिलाई नवदुर्गा पूजा पनि भनिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कंकेश्वरी, कलंकीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी र बगलामुखीलगायत मन्दिरमा भक्तजन पूजा तथा दर्शनका लागि पुगेका छन्।
त्यसैगरी, उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको चहलपहल बढेको छ।
नवरात्रमा नौ दिनसम्म पूजा आराधना गरेपछि जमरा र टीका प्रसादका रूपमा लगाउने चलन छ। देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका–जमरा लगाइन्छ भने कतिपय स्थानमा कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै लगाउने प्रचलन छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका–जमरा लगाउन सकिन्छ। यसरी नेपालीले बडादसैँलाई धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासँग जोडेर उल्लासपूर्वक मनाउने गर्छन्।
प्रतिक्रिया