काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ अन्तर्गत छाप टुसालमा सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न घरमै पुगेर स्वास्थ्य सेवा तथा परामर्श प्रदान गरिएको छ।
वडा कार्यालयको टोली, विष्णुमती आधारभूत स्वास्थ्य केन्द्रको टोली तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागितामा सुत्केरी आमाहरूको घरमै पुगेर प्रसवपछिको स्वास्थ्य अवस्था र नवजात शिशुको स्याहारबारे जानकारी लिइएको हो।
घरमै गरिएको प्रसवपछिको भ्रमण (PNC Home Visit) का क्रममा आमाको स्वास्थ्य अवस्था र नवजात शिशुको स्वास्थ्य जाँच गर्नुका साथै सिजेरियन शल्यक्रिया (CS) पछि लगाइएको टाँकाको सरसफाइ, आवश्यक हेरचाह तथा औषधोपचारसम्बन्धी परामर्श प्रदान गरिएको थियो। सुत्केरी आमाको थप पोषणलाई ध्यानमा राख्दै अण्डासमेत उपलब्ध गराइएको छ।
वडा सदस्य रण बहादुर तामाङले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर घरमै पुगेर सेवा प्रदान गरिएको बताए। उनले भने, “सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्नु, आवश्यक परामर्श दिनु र पोषणमा सहयोग गर्नु हाम्रो महत्वपूर्ण जिम्मेवारी हो। स्वास्थ्य सेवाको पहुँच सबै घरपरिवारसम्म पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ।”
उनले मातृ तथा शिशु स्वास्थ्यको संरक्षणका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र वडा कार्यालयबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सुत्केरी अवस्थामा कुनै समस्या देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत आग्रह गरे।
प्रसवपछिको समयमा आमा र नवजात शिशुको नियमित स्वास्थ्य निगरानी, उचित पोषण तथा आवश्यक परामर्शले सम्भावित स्वास्थ्य समस्या पहिचान गर्न र रोकथाममा सहयोग पुर्याउँछ। घरमै पुगेर सेवा प्रदान गर्ने यस्ता कार्यक्रमले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया