सामना देवकोटा
अस्टिन, टेक्सास । महिला स्वामित्वका तथा साना व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको टेक्सासस्थित अस्टिनमा अक्टोबर १७ देखि तीनदिने दसैँ मेला आयोजना हुने भएको छ।
इजी पिपल सप्लायर्स एलएलसीको आयोजनामा हुने मेला अक्टोबर १९ सम्म सञ्चालन हुनेछ। मेलाका तीनै दिन अपराह्न ४ बजेदेखि मध्यरातसम्म आगन्तुकले विभिन्न व्यापारिक स्टल तथा मनोरञ्जनात्मक गतिविधिको अवलोकन गर्न सक्नेछन्।
मेलाको मुख्य उद्देश्य महिला उद्यमी तथा साना व्यवसायीलाई आफ्नो उत्पादन र सेवा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय नेपाली समुदायबीच आपसी भेटघाट र सांस्कृतिक सम्बन्ध विस्तार गर्नु रहेको छ।
मेलामा खाद्य सामग्री, सौन्दर्य सेवा, अल्टर सेवा, थ्रेडिङ, मेहन्दी, पहिरन तथा फेसनका सामग्री र विभिन्न एक्सेसरिजका स्टल रहनेछन्। यसका साथै घर खरिद, ऋण तथा करसम्बन्धी परामर्श सेवासमेत उपलब्ध हुने आयोजकले जनाएको छ।
मेलालाई थप आकर्षक बनाउन तीनै दिन डिजे संगीतको व्यवस्था गरिएको छ। व्यापार, मनोरञ्जन र सामाजिक भेटघाटलाई एकै स्थानमा समेट्ने उद्देश्यले आयोजना हुन लागेको मेलामा महिला व्यवसायी तथा समुदायका सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार मेलामा स्टल राख्न तीन दिनका लागि २०० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ। उक्त शुल्कमा टेन्ट, टेबल र कुर्सीको व्यवस्था समावेश हुनेछ।
मेलाका लागि २० वटा स्टल सञ्चालन गर्ने अनुमति लिइएको र स्टल बुकिङ खुला रहेको आयोजकले जनाएको छ। महिला उद्यमी तथा साना व्यवसायीलाई आफ्नो व्यवसाय विस्तार गर्न र नयाँ ग्राहकसम्म पुग्न मेलाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
दसैँको अवसरमा आयोजना हुन लागेको मेलाले अस्टिनमा रहेका नेपाली समुदायलाई चाडपर्वको उल्लाससँगै उद्यमशीलता, व्यापारिक सहकार्य र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया