काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ जारी गरेको छ। उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र संस्थागत बनाउने उद्देश्यसहित पार्टीले नयाँ रूपरेखा ल्याएको हो।
पार्टीको विधानको धारा ६३ को उपधारा (२) र धारा ८३ को उपधारा (१) बमोजिम केन्द्रीय समितिबाट स्वीकृत रूपरेखाले राजनीतिमा व्याप्त गुटबन्दी, परिवारवाद तथा पैसा र बाहुबलको प्रभावलाई निरुत्साहित गर्दै सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्ने लक्ष्य राखेको छ।
रूपरेखाअनुसार रास्वपाबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिले पहिलो चरणमा ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ। त्यसपछि उम्मेदवारले लिडरसिप एकेडेमीको अनिवार्य प्रशिक्षण तथा परीक्षण प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
उम्मेदवार छनोट प्रक्रियामा लिडरसिप एकेडेमीलाई २५ प्रतिशत भारांक दिइएको छ। राजनीतिक निकटता, समावेशिता र प्रारम्भिक निर्वाचनलाई पनि छनोटका प्रमुख आधारका रूपमा समेटिएको छ। छनोट प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउन सम्पूर्ण प्रक्रिया दस्तावेजीकरण गर्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ।
नयाँ तथा योग्य व्यक्तिलाई राजनीतिमा आकर्षित गर्न रूपरेखामा ‘कुलिङ पिरियड’ को व्यवस्था पनि गरिएको छ। पहिलोपटक राजनीतिक दलमा आबद्ध हुने व्यक्तिका लागि पालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको उम्मेदवार बन्न कम्तीमा ४५ दिनको समयसीमा तोकिएको छ। अन्य राजनीतिक दलबाट रास्वपामा प्रवेश गर्ने व्यक्तिका हकमा भने ९० दिनको कुलिङ पिरियड राखिएको छ।
त्यस्तै, समाजमा प्रतिष्ठित, विज्ञ तथा स्वच्छ छवि भएका व्यक्तिलाई विशेष परिस्थितिमा उम्मेदवार बनाउने उद्देश्यले ‘ल्याटरल इन्ट्री’ को व्यवस्था गरिएको छ। यस्तो अवस्थामा सम्बन्धित तहका निश्चित कमिटीहरूको लिखित सहमति लिनुपर्ने प्रावधान राखिएको छ।
महिला, युवा तथा सीमान्तकृत समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्दै समाजको विविधता प्रतिबिम्बित गर्ने नेतृत्व स्थापित गर्नु पनि रूपरेखाको अर्को उद्देश्य रहेको पार्टीले जनाएको छ।
स्थानीय तहलाई सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र जनसहभागिताको केन्द्र बनाउने लक्ष्यसहित ल्याइएको यो रूपरेखाले उम्मेदवार छनोट प्रक्रियामा संस्थागत पद्धति स्थापित गर्ने र योग्य नेतृत्वलाई अवसर प्रदान गर्ने पार्टीको विश्वास छ।
प्रतिक्रिया