स्थानीय निर्वाचनका उम्मेदवार छान्न रास्वपाको नयाँ मापदण्ड, ४५ देखि ९० दिनसम्मको ‘कुलिङ पिरियड’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०८३, बिहीबार ०६:३०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ सार्वजनिक गरेको छ। पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र संस्थागत बनाउने उद्देश्यसहित नयाँ रूपरेखा ल्याएको जनाएको छ।

पार्टीको विधानको धारा ६३ को उपधारा (२) र धारा ८३ को उपधारा (१) बमोजिम केन्द्रीय समितिबाट स्वीकृत रूपरेखाले सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व छनोटलाई प्राथमिकता दिएको छ। पार्टीका अनुसार राजनीतिमा देखिँदै आएको गुटबन्दी, परिवारवाद तथा पैसा र बाहुबलको प्रभावलाई कम गर्दै योग्य व्यक्तिलाई अवसर दिन नयाँ व्यवस्था गरिएको हो।

रास्वपाका अनुसार पार्टीबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिले पहिलो चरणमा ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ। त्यसपछि उनीहरूले ‘लिडरसिप एकेडेमी’ अन्तर्गतको अनिवार्य प्रशिक्षण र परीक्षण प्रक्रिया पूरा गर्नुपर्नेछ।

उम्मेदवार छनोट प्रक्रियामा लिडरसिप एकेडेमीलाई २५ प्रतिशत भारांक दिइएको छ। त्यसैगरी पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचनलाई पनि उम्मेदवार छनोटका प्रमुख आधार बनाइएको पार्टीले जनाएको छ। छनोट प्रक्रियामा पारदर्शिता कायम गर्न सम्पूर्ण प्रक्रिया दस्तावेजीकरण गर्ने व्यवस्था गरिएको छ।

नयाँ व्यक्तिलाई राजनीतिमा प्रवेश गराउन र अन्य दलबाट आउने व्यक्तिको हकमा निश्चित समयको मूल्याङ्कन सुनिश्चित गर्न ‘कुलिङ पिरियड’ को व्यवस्था गरिएको छ। पहिलोपटक राजनीतिक दलमा आबद्ध हुने व्यक्तिका लागि पालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदमा उम्मेदवार बन्न कम्तीमा ४५ दिनको कुलिङ पिरियड राखिएको छ।

त्यस्तै, अन्य राजनीतिक दलबाट रास्वपामा प्रवेश गर्ने व्यक्तिका लागि ९० दिनको समयसीमा तोकिएको छ। यस व्यवस्थाले उम्मेदवारको राजनीतिक प्रतिबद्धता, सक्रियता र पार्टीसँगको सम्बन्ध मूल्याङ्कन गर्न सहयोग पुग्ने पार्टीको अपेक्षा छ।

रूपरेखामा समाजका प्रतिष्ठित, विज्ञ तथा स्वच्छ छवि भएका व्यक्तिलाई विशेष परिस्थितिमा पार्टीमा प्रवेश गरी उम्मेदवार बन्न सक्ने गरी ‘ल्याटरल इन्ट्री’ को व्यवस्था पनि गरिएको छ। यस्तो अवस्थामा सम्बन्धित तहका कमिटीहरूको लिखित सहमति आवश्यक पर्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

रास्वपाले स्थानीय तहलाई सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र जनसहभागिताको केन्द्र बनाउने लक्ष्यसहित नयाँ रूपरेखा ल्याएको जनाएको छ। महिला, युवा तथा सीमान्तकृत समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्दै समाजको विविधता झल्किने नेतृत्व स्थापित गर्न यसले सहयोग पुर्‍याउने पार्टीको विश्वास छ।

नयाँ उम्मेदवार छनोट रूपरेखाले आगामी स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार चयन प्रक्रिया र आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। यद्यपि, यसको प्रभावकारिता भने कार्यान्वयन, छनोटका मापदण्डको निष्पक्ष प्रयोग र प्रक्रियाको पारदर्शितामा निर्भर रहनेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor