काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा सिर्जना अधिकारी निर्वाचित भएकी छन्। अधिकारीले २ हजार ६ सय ५८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय हासिल गरेकी हुन्।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय अधिकारी नेपाल विद्यार्थी संघकी पूर्वकेन्द्रीय सहमहामन्त्री हुन्। उनी नेविसंघको दुई कार्यकाल केन्द्रीय सदस्यसमेत रहिसकेकी छन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी अधिकारीले लोकतान्त्रिक आन्दोलनका क्रममा समेत सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।
२०६२/६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताएकी अधिकारी आन्दोलनकै क्रममा घाइतेसमेत भएकी थिइन्। विद्यार्थी आन्दोलनमार्फत लोकतन्त्र, नागरिक अधिकार र राजनीतिक परिवर्तनका पक्षमा उनले योगदान पुर्याएकी छन्।
अधिकारी दुई पटक निर्वाचित महासमिति सदस्य हुन्। उनले संविधानसभाका दुवै निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवारका रूपमा सहभागिता जनाएकी थिइन्। राजनीतिसँगै महिला अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय तथा सशक्तीकरणका क्षेत्रमा पनि उनी लामो समयदेखि सक्रिय रहँदै आएकी छन्। वुमन एक्ट नामक संस्थामार्फत उनले महिला अधिकार र सामाजिक उन्नयनका विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आएकी छन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अधिकारीले पार्टी संगठनलाई थप सशक्त बनाउने, नेतृत्वमा समावेशिता बढाउने र कांग्रेसलाई जनतासँग अझ नजिक जोड्ने विषयलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले महिला अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र सामाजिक न्यायका क्षेत्रमा आफूले हासिल गरेको अनुभवलाई पार्टीको नीति, संगठन र नेतृत्व विकासमा उपयोग गर्ने बताएकी छन्। महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व विकास र संगठनलाई जनमुखी बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
महिला अधिकार र समावेशी समाज निर्माणका क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि क्रियाशील अधिकारीको केन्द्रीय सदस्यमा विजयसँगै नेपाली कांग्रेसको केन्द्रीय तहमा उनको भूमिका थप विस्तार भएको छ। विद्यार्थी राजनीति, लोकतान्त्रिक आन्दोलन र सामाजिक अभियानबाट प्राप्त अनुभवलाई पार्टीको समग्र विकासमा उपयोग गर्ने उनको प्रतिबद्धताले आगामी राजनीतिक यात्रालाई थप महत्वपूर्ण बनाएको छ।
प्रतिक्रिया