नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०८३, बुधबार ०६:१९

काठमाडौं । नवरात्रको चौथो दिन आज दशैं घर तथा पूजा कोठामा नवदुर्गामध्येकी चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गर्ने धार्मिक तथा शास्त्रीय परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले आफ्ना भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप तथा दुःख निवारण गर्ने विश्वास गरिन्छ।

विभिन्न पुराणमा उल्लेख भएअनुसार कुष्माण्डा देवीलाई सृष्टिको उत्पत्तिसँग जोडेर व्याख्या गरिएको छ। देवी कवचमा पनि त्रिविध तापले युक्त संसार जसको उदरमा अवस्थित छ, उनी नै भगवती कुष्माण्डा हुन् भन्ने वर्णन गरिएको छ।

यस वर्ष नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन नवदुर्गाकी पहिलो स्वरूप शैलपुत्रीको पूजा आराधना गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा गरिएको थियो।

नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्रको पाठ पारायण गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यस अवधिमा शक्तिस्वरूपा देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य, विद्या र समृद्धि प्राप्त हुन्छ।

शास्त्रीय परम्पराअनुसार नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रको अवसरमा देशभरका विभिन्न शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कंकेश्वरी, कलंकीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी र इन्द्रायणी मन्दिरमा श्रद्धालुहरू पूजा तथा दर्शनका लागि पुग्ने गर्छन्।

त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायतका शक्तिपीठमा पनि नवरात्रका अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्छ।

नवरात्रका नौ दिनसम्म देवीको पूजा आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद तथा जमरा ग्रहण गरी नेपालीहरूले बडादसैँ पर्व मनाउने परम्परा छ। धार्मिक आस्था, पारिवारिक मिलन र सांस्कृतिक सद्भावको प्रतीकका रूपमा रहेको बडादसैँ नेपालीहरूको प्रमुख चाडमध्ये एक हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor