काठमाडौं । जया मल्टिपल क्याम्पसमा बडा दसैँको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको छ। नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै विद्यार्थी, शिक्षक तथा क्याम्पस परिवारबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा क्याम्पसका गुरुजनहरूले विद्यार्थीहरूलाई टीका तथा जमरा लगाइदिँदै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उज्ज्वल भविष्यको कामना गरेका थिए। दसैँको सांस्कृतिक महत्व झल्काउने कार्यक्रमले क्याम्पस परिसरमा खुसी, उत्साह र आत्मीयताको वातावरण सिर्जना गरेको थियो।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख भवानीप्रसाद पौडेलले दसैँ नेपाली समाजको मौलिक संस्कृति, पारिवारिक एकता, आपसी सद्भाव र भाइचाराको प्रतीक भएको बताउनुभयो। उहाँले चाडपर्वले एकअर्काप्रतिको सम्मान, प्रेम र सद्भावलाई थप बलियो बनाउनुका साथै नयाँ पुस्तालाई नेपाली कला, संस्कृति र परम्पराबारे परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
क्याम्पस प्रमुख पौडेलले विद्यार्थीहरूलाई चाडपर्वको सांस्कृतिक तथा सामाजिक महत्व बुझ्दै अनुशासन, सकारात्मक सोच र आपसी सहयोगको भावनालाई जीवनमा आत्मसात् गर्न आग्रह गर्नुभयो। उहाँले सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दै विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभयो।
यस्ता कार्यक्रमले शैक्षिक संस्थाभित्र आत्मीयता र सहकार्यको वातावरण निर्माण गर्नुका साथै नेपाली संस्कृति र परम्पराको पुस्तान्तरणमा सहयोग पुर्याउने विश्वास क्याम्पसले लिएको छ।
जया मल्टिपल क्याम्पसले सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभचिन्तकहरूमा बडा दसैँ तथा विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया