दसैँ–तिहार खर्च दिन श्रमिकलाई निर्देशन, निजी विद्यालयका शिक्षक–कर्मचारी पनि समेटिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०८३, मंगलवार ०६:२३

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योगी, व्यवसायी तथा निजी विद्यालयका छाता संगठनहरूलाई पत्राचार गर्दै श्रमिक, शिक्षक तथा कर्मचारीलाई कानुनबमोजिम चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ।

विभागले श्रम ऐन, २०७४ को दफा ३७ मा भएको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने उद्देश्यले निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरूलाई पत्राचार गरेको हो।

श्रम ऐनको दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम हरेक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।

विभागले २०८३ असोज २३ गते नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई पत्राचार गरेको थियो। पत्रमार्फत ती संस्थामा आबद्ध रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकले पाउनुपर्ने चाडपर्व खर्च भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो।

यसैगरी, विभागले २०८३ असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पनि छुट्टाछुट्टै पत्र पठाएको छ। निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च सुनिश्चित गर्न दुवै संस्थालाई निर्देशन दिइएको विभागले जनाएको छ।

चाडपर्वका बेला श्रमिकलाई आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले कानुनमा व्यवस्था गरिएको रकम समयमै भुक्तानी हुनुपर्नेमा विभागले जोड दिएको छ। यस व्यवस्थाले उद्योग, व्यवसाय तथा निजी विद्यालयमा कार्यरत श्रमिक, शिक्षक र कर्मचारीले पाउनुपर्ने चाडपर्व खर्च प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

श्रम ऐनमा भएको व्यवस्थाअनुसार रोजगारदाताले चाडपर्व खर्च उपलब्ध गराउनु श्रमिकको कानुनी अधिकार भएकाले सम्बन्धित प्रतिष्ठानहरूले उक्त प्रावधानको पालना गर्नुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor