काठमाडौं । नयाँ तथा पुराना सवारी साधनको दर्ता, नामसारी तथा बीमासम्बन्धी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ। संशोधित व्यवस्थाले सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाउँदै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।
संशोधित व्यवस्थाअनुसार आधिकारिक डिलरबाट जाँच गरिएका सवारी साधनको जाँचलाई मान्यता दिइनेछ। यससँगै डिलरबाट जाँच भइसकेका सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने झन्झट हट्ने जनाइएको छ।
अब सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि सवारी दर्ता तथा नामसारी गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, सवारी खरिदकर्ताको फोटो तथा खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ।
त्यस्तै, सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने बाध्यता पनि हटाइएको छ। संशोधित व्यवस्थाअनुसार सवारी नामसारीका क्रममा बायोमेट्रिक विवरण संकलन गर्न यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा सम्बन्धित कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था गरिएको छ।
सरकारको यस कदमबाट सवारी दर्ता, नामसारी तथा बीमासम्बन्धी काममा लाग्ने समय र झन्झट घट्ने तथा सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, संशोधित प्रावधानको कार्यान्वयन सम्बन्धित कार्यालयको प्रक्रिया र व्यवस्थाअनुसार हुनेछ।
प्रतिक्रिया